काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि आजदेखि २५ समूह बनाएर छलफल हुँदैछ ।
प्रचण्डले बन्द सत्रमा ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए ।
देशभरबाट सहभागी झन्डै १७ सय प्रतिनिधिमध्येबाट निर्माण गरिएको २५ समूहमा प्रतिवेदनमाथि छलफलका हुन लागेको हो ।
महाधिवेशनस्थल प्रज्ञा भवनका विभिन्न हलसहित पार्टी कार्यालय र पार्टी प्यालेसमा समेत बसेर समूहहरूले प्रतिवेदनमाथि छलफल गर्दैछन् ।
प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ ।