Friday, August 19, 2022
घरTrendingकाँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने

काँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम सकिएलगतै केन्द्रीय समिति बैठक बस्ने भएको हो ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ ।

कांग्रेसको नयाँ विधानअनुसार यस महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन भएको थियो ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी केन्द्रीय सदस्यहरुमध्ये ३५ खुला, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन तथा पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गताबाट एक÷एक केन्द्रीय सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन भएको थियो । यसबाहेक कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने व्यवस्था उल्लेख छ ।

कांग्रेसले बैठकको निर्णयसहित आज नै आयोगमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिने बताइएको छ ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments