काठमाडौं, २१ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षहरुले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् ।
सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट बिहीबार पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले तोकिएकै समयमा पार्टीको महाधिवेशन गर्न माग गरेका हुन् ।
युवा नेताहरुले त्यसै कारण चौधौं महाधिवेशन अनिश्चित बनेको भन्दै यसले पार्टीको गरिमामा ठूलो क्षति पुगेको बताएका छन् ।
कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिएको छ । तर क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन कार्यतालिकाअनुसार तल्लो तहका अधिवेशन हुन नसकेको छ ।
यस्तै उनीहरुले वडा तहबाट नै सिफारिसको आधारमा क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन् ।
महाधिवेशन अन्तिम क्षण पुग्दा पनि क्रियाशील सदस्यताको छानबिन गरी अन्तिम रुप दिन नसक्नुले नियतमाथि समेत प्रश्न उठ्न थालेको उल्लेख गरेका छन् ।
यस्ता गतिविधिले आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्ने संयन्त्र निष्प्रभावी हुने भन्दै उनीहरुले लोकतन्त्र र कांग्रेसलाई जोगायन सम्पूर्ण पुस्ताको सहभागिता सहितको विधिवत महाधिवेशन सुनिश्चित गर्न लगाएयतका माग गरेका छन् ।