Tuesday, September 21, 2021
घरBanner News"टोकियो देखी टोकियोसम्म"- नेपालको ओलम्पिक यात्रा

“टोकियो देखी टोकियोसम्म”- नेपालको ओलम्पिक यात्रा

राधेश्याम दाहाल
काठमाण्डौ, ९ असार
टोक्योबाट नेपालले ओलम्पिक यात्रा शुरु गरेको आज ५७ बर्ष भएछ । ५७ बर्ष पछि फेरि एक पटक ओलम्पिक खेलमा नै नेपालको झण्डा टोकियोमा फहराउन नेपाली खेलाडी र खेल अधिकारीको टोली त्यहाँ पुगेको छ । ५७ बर्ष अगाडी पनि नेपालको ओलम्पिक यात्रा सहभागितामा मात्रै सीमित थियो अहिले पनि सहभागिता बाहेक अरु केही पनि होइन । केही खेलाडी ओलम्पियन बन्न सफल भए । केही खेल अधिकारीले ओलम्पिकको एग्रिडियसन कार्ड भिर्न सफल भए । झण्डै ६ दशकमा पनि फेरिन नसकेको नेपालको स्वरुपलाई लिएर जापान पुग्दा नेपाली खेल अधिकारीलाई थोरै भएपनि लाज लाग्नु पर्ने थियो । तर उनीहरु थप गौरवान्वित भएर जापानमा हात हल्लाएको दृश्य देख्दा लाज शब्दलाई पनि लाज लाग्यो भन्दा फरक नपर्ला । नेताको श्रीमती भएका कारण कबड्डी संघको अध्यक्ष बनेकी तुलसा थापा जुडो खेलको टिम म्यानेजर भएर जापान पुगिन् । अरु पनि केही खेल अधिकारीले त्यस्तै बेइजती पारा देखाए । हरेक पटकको ओलम्पिक यात्रामा नेपालको यस्तो दृश्य देखिएकै हो । नेपालको ओलम्पिक कमिटिमा पुग्न खोज्ने हरेकको चाहना यस्तै हुन्छ । राजनीतिक नियुक्ती खाएर राष्ट्रिय खेलकुद परिषदमा प्रवेश गरेका जीवनराम श्रेष्ठ जो साँसद पनि हुन् उनी अहिले नेपालको खेल क्षेत्रको विशिष्ट ब्यक्ति बनेर बसेका छन् । नेपालको खेलकुद क्षेत्रमा यो हदको बेइजती र यो हदको राजनैतिक हस्तक्षेप शुरु भएको उनकै प्रवेश पछि नै हो भन्दा फरक नपर्ला । सर्वोच्च अदालतले जीवनराम श्रेष्ठहरु रहेको भनिएको ओलम्पिक कमिटिलाई अवैध ठहर गर्दा समेत उनीहरुले त्यसलाई सधै अटेर गरे । सर्वोच्च अदालतको आदेश नमान्दा समेत उनीहरुलाई नेपालको कानुनले कुनै कारवाही गर्न सकेन । त्यस पछि नेपालको खेलकुद क्षेत्रमा थप विकृतीले जरो गाडेकै हो । विगत २० बर्ष यता नेपालको खेलकुद क्षेत्र केही सीमित ब्यक्तिले राजनीति गर्ने अड्डा मात्रै बन्यो । खेलका नाममा झेल गर्न पाउनेहरु चुप लागे । झेल गर्न नपाउनेहरु कोही पालो आउला भनेर चुप लागे । कोही सीमित हल्ला गर्दै तोलमोल गर्नमा ब्यस्त रहे । खेल र खेलाडीको चिन्ता गरेर बिशिष्ट योजना बनाउने कोही पनि नेपालको खेल क्षेत्रमा प्रवेश नै गरेन । सन् २०२० आइसक्दा नेपालको खेलकुद क्षेत्रमा सवैभन्दा बढी लाज लाग्नु पर्ने जीवनराम श्रेष्ठलाई नै थियो । किनकी उनले सन् २०२० सम्ममा नेपालले ओलम्पिकमा पदक जित्न सक्ने गरी खेलको विकास गर्ने भनेर गफ दिएका थिए । तर आज २०२१ आइसक्दा नेपालको ओलम्पिक यात्रा वाइल्ड कार्डमा मात्रै सीमित भएको छ । पदक त एमाले नेता बामदेव गौतमकी श्रीमती तुलसा थापाले जितिन् । जुडो खेलको टिम मेनेजेरको कार्ड भिरेर ।
सन् १९६४ मा पहिलो पटक नेपालले ओलम्पिक यात्रा गर्दा नेपालका खेल अधिकारी जति उत्साही थिए अहिले सहभागी खेल अधिकारी त्यो भन्दा दुई गुना उत्साही र खुशी देखिए । तर ओलम्पिक नेपालका खेलाडी र सिंगो राष्ट्रले गर्व गर्ने अवसर कहिले बन्न सकेन । विगत २० बर्ष देखी नेपालको ओलम्पिक यात्रा जहिले पनि विवादको घेरामा मात्रै रहेको छ । नेपालको ओलम्पिक कमिटि सम्हालेर बस्नेहरुले कहिले पनि विधि र पद्धतीलाई आत्मसात गरेको पाइएन । वाइल्ड कार्ड मार्फत नै भएपनि खेलाडी सहभागी हुने विषय पनि जहिले विवादमै सीमित हुन्छ । खेलाडीसँगै को विदेश जाने भन्ने विषय ओलम्पिक कमिटिका पदाधिकारीको तजविजमा भर पर्छ । उनीहरुलाई जो मन पर्‍यो त्यसले विदेश जान पायो । नेपालमा ओलम्पिक्समा सहभागी हुने विषय खरिद विक्री भएका इतिहास समेत हामी सामु छ । हाम्रै जस्तो अवस्थामा रहेको भारत आज ओलम्पिकमा धेरै भन्दा धेरै पदक जित्ने आशा सहित जापान पुगेको छ । भारतका सरकारी र निजि कंपनीहरुले खेलाडी र खेलको प्रायोजन गरेको दृश्य तपाई हामीले टेलिभिजनको सेटमा देखेकै छौ । उनीहरुका लागी ओलम्पिक एउटा मिसन भएको छ ।राष्ट्रको गौरव बढाउनका लागी । तर हामीकहाँ खेलाडीको नाम पनि अन्तिमसम्म गोप्य नै रहन्छ । खेल अधिकारीको नामको विषय त ओलम्पिकबाट फर्कदासम्म पनि सार्वजनिक गर्न गाह्रो हुन्छ नेपालका खेल अधिकारीलाई । नेपालको खेलकुद क्षेत्रमा यो समस्या हुनुको पछाडीको मुख्य कारण भनेकै राज्यको प्राथमिकतामा खेल नपर्नु नै हो । वर्तमान विश्वमा कुनै पनि देशको आर्थिक, सामाजिक सवै अवस्था माथी गएको तथ्य हेर्ने मुख्य आधार भनेकै ओलम्पिकमा उसले प्राप्त गर्ने सफलता नै हो भन्न थालिएको छ । हाम्रा लागी पदक होइन दानमा दिएको वाइल्ड कार्ड कै भर छ ५७ बर्ष सम्म पनि । खेलकुदमा समग्र रुपमा पुर्नसंरचना नगरेसम्म नेपालको खेलकुद माथी जान सक्दैन । राज्यको प्राथमिकता भित्र खेल नपरेसम्म हाम्रो अवस्था यस्तै हो । खेलका नाममा झेल गर्नेहरुले राज्यको प्राथमिकता भित्र खेल परोस भनेर कहिले पनि चाहना राख्दैनन् । उनीहरुलाई यस्तै अवस्था फाइदाजनक छ । नेपालका राजनैतिक दलहरुको पनि चाहना खेलकुद क्षेत्रको विकास गर्ने भन्नेमा कहिले केन्द्रित भएको पाइएन । देशको राजनैतिक, सामाजिक र आर्थिक हैसियत माथी लैजान पनि खेलकुद महत्वपुणर् क्षेत्र हो भनेर बुझन उनीहरुले कहिले चाहेनन् । खेलकुदको नेतृत्व सम्हाल्नेहरुले कहिले पनि आफनो दल र नेतालाई खेलको प्राथमिकताका बारेमा रुची जगाउन चाहेनन् । नेपाली खेल क्षेत्र हिजो देखी नै कार्यकर्ता र आसेपासे भर्ती केन्द्र बन्यो । जसलाई पछिल्ला समय बनेका सरकारहरुले पनि निरन्तरता दिए । त्यसैले १९६४ को टोकियो ओलम्पिक देखी २०२१ को टोकियो ओलम्पिक सम्मकै नेपालको खेल यात्राको समिक्षा गरेर वास्तविक समस्या पहिचान गर्ने अवसर वर्तमान सरकारलाई छ । खेल क्षेत्रमा एउटा आमुल सुधार गर्न सकिने अवसर यो पटकको सरकारलाई छ । अवको नेपाल खेल मार्फत सफल र सम्बृद्ध बन्न सक्छ । यस तर्फ सोच्न सके भावी पुस्ताले धन्यवाद पक्कै भन्नेछ । अन्यथा अरु जीवनराम र तुलसा थापाहरुको हाली मुहाली हेरेर बस्नु बाहेक केही हुदैन । हजारौ युवाको सपना पानीमा हराउने छ । सवैलाई चेतना भया ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments