काठमाडौं, २९ असार । अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको छ ।
अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप सोमबार १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आइपुगेको हो ।
कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले जिल्लाका ४४ वटा खोप केन्द्रबाट खोप लगाउने निर्णय गरेको हो । काठमाडौंमा साउन ४–६ गतेसम्म जोन्सनको खोप लगाउन पाइने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५०–५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय गरिसकेको छ ।
यसैगरी उक्त खोप पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई समेत खोप दिने निर्णय गरेको छ ।
काठमाडौं महानगरपालिकाको हकमा भने थप २५ वटासम्म खोप केन्द्र विस्तार गर्न सकिने निर्णय भएको छ ।