Wednesday, July 28, 2021
घरBanner Newsबालुवा बेच्न गुरुयोजनाको नाटक बुन्दै कोष

बालुवा बेच्न गुरुयोजनाको नाटक बुन्दै कोष

काठमाण्डौ, ३० जेठ
जग्गा जमिनको उचित संरक्षण गर्न सकेको भए पशुपति क्षेत्र विकास कोष नामक संस्था नेपालकै सवैभन्दा धनी संस्थाका रुपमा स्थापित हुनसक्थ्यो । तर सो संस्था संचालन गर्नका लागी भनेर विभिन्न राजनैतिक दलले कोषमा पठाएका अधिकांश ब्यक्तिहरु निकम्मा सावित हुदा सो संस्था मात्र होइन संस्थाको स्वामित्वमा रहेका जग्गा जमिन र संरचना समेत धराशायी हुने अवस्थामा पुगेका छन् । त्यसको ज्वलन्त उदाहरण हो काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ८ मा रहेको पशुपति क्षेत्र विकास कोषको जमिन । क्षेत्रफलको हिसावले सो जमिन ५ सय ३५ रोपनीमा फैलिएको छ । तर सो जमिन भएको क्षेत्र चौतर्फि रुपमा अतिक्रमणको शिकार भैरहेको छ । सुकुम्वासीका नाममा विभिन्न ब्यक्तिले अतिक्रमण गर्ने क्रम पनि बढेको छ । सो क्षेत्रमा पछिल्लो समय सवैभन्दा ठुलो विकृतीका रुपमा भित्रिएको काम हो छाडा गाई गोरु संरक्षण गर्ने भनि शुरु गरिएको काम । आफुलाई सामाजिक कार्यकर्ता भन्न रुचाउने उत्तम पुडासैनी नाम गरेका ब्यक्ति सहितको एउटा टोलीले सो क्षेत्रमा ठुलो मात्रामा जग्गा हडपेर पशुपति र आसपासका क्षेत्रमा छाडा छोडिएका गाई गोरु संरक्षण गर्ने भनिएपनि सो क्षेत्र छाडा गाई गोरु पुर्ने चिहान बन्दै गएको स्थानिय बासिन्दा बताउछन् । उनीहरुका अनुसार दैनिक एक दुई वटा गाई गोरु मरेकै हुन्छन् । अघिल्लो बर्षको लकडाउनमा सो क्षेत्रमा सयौ गाई गोरु भएपनि अहिले त्यो संख्या एक दुई दर्जनमा झरेको पछ । मरेका गाई गोरु उचित रुपमा नपुरेकाले सो क्षेत्र नै दुर्गन्धित बनेको छ । छाडा गाई गोरु संरक्षण गर्ने भनेर पुडासैनीहरुको समुहले सांसद विकास कोष, विभिन्न नगरपालिका र अन्य क्षेत्रसँग लाखौ रुपैया लिएको पनि बुझिएको छ । रकमका विषयमा थप अनुसन्धान भइरहेकाले आगामी दिनमा त्यस बारेमा विस्तृत विवरण सार्वजनिक गर्ने छौ । पुडासैनी सहितको समुहसँग पशुपति क्षेत्र विकास कोषका केही कर्मचारी र केही पदाधिकारीको पनि मिलिभगत रहेको बुझिन आएको छ । यता कोषले सोही जग्गामा फेरि बालुवा खानी संचालन गर्न दिनका लागी थप तानाबाना बुन्दै गरेको पनि बुझिएको छ । पशुपति गुरुयोजनाको नाम दिएर सो क्षेत्रमा एउटा ठुलो बोर्ड झुण्डाइएको छ । अस्पताल, बृद्धाश्रम, गौशाला लगायतको नाम दिएर गुरुयोजना भनिएपनि बालुवा बेच्नका लागी जालझेल हुन लागेको भन्दै स्थानिय बासिन्दा आक्रोशित भएका छन् । २०४५ साल भन्दा अगाडी सो जग्गा गोठाटार गाँउ पंचायतको नाममा थियो । त्यती बेला स्थानिय बासिन्दाको सक्रियताका हजारौ रुख रोपर राम्रो जंगल बनाइएको थियो । तर पशुपति क्षेत्र विकास कोषको हातमा पुगेदेखी सो जग्गा संरक्षण विहिन भएको छ । आफनो भोगाधिकारमा आएको ३० बर्ष भन्दा बढी भैसक्दा पनि कोषले सो क्षेत्रमा सिन्को समेत भाँचेको छैन । प्राप्त जानकारी अनुसार कोषले सो जग्गाको केही भाग मुआब्जा बापत बाँड्ने तयारी पनि गरेको बुझिएको छ । तर सवैभन्दा पहिले सो जग्गामा फेरि बालुवा खानी संचालन गर्ने सोचका साथ कोष लागी परेको बुझिएको छ । कोषका केही पदाधिकारी र कर्मचारी यस अघि पनि घुस लेनदेन गरेको अभियोग खेपिसकेका ब्यक्तिहरु हुन् । अहिले पनि बालुवाको करोडौको खेलोमा उनीहरुको सक्रियतालाई सवैले अर्थपुणर् रुपमा हेरेका छन् । कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरी थापा र केही वडा अध्यक्षहरु पनि सो खेलोमेलोमा सक्रिय रहेको बुझिन आएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments