Monday, June 21, 2021
घरBanner Newsतोकिएकै मितिमा महाधिवेशन गर्नुको विकल्प छैनः देउवा

तोकिएकै मितिमा महाधिवेशन गर्नुको विकल्प छैनः देउवा

काठमाण्डौ, २४ जेठ
तोकिएकै मितिमा पार्टीको महाधिवेशन गर्ने बाहेक अरु विकल्प नभएको कांग्रेस सभापति शेर बहादुर देउवाले बताएका छन् । पार्टीको महाधिवेशन समयमै गर्नु पर्ने भन्दै दवाव दिन बुढानिलकण्ठ पुगेका युवा नेता सामु देउवाले समय थप्ने सुविधा छैन, त्यसैले महाधिवेशन समयमै गर्नुको विकल्प नभएको बताएका छन् । देउवाले भदौभित्रै पार्टीको १४औँ महाधिवेशन गर्नुपर्नेमा आफु प्रतिबद्ध रहेको बताएका छन् । पार्टीको महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न देउवानिवास बूढानीलकण्ठमा पुगेका युवा नेताहरूसँग देउवाले यस्तो बताएका हुन् । ‘हामीलाई अरू समय थप्ने सुविधा छैन । त्यसैले यही मितिभित्र गर्नुपर्नेछ । सभापति देउवाले महाधिवेशनका विषयमा केही दिनभित्रै पदाधिकारी बैठक बोलाएर छलफल गर्ने बताएका छन् । पार्टीको महाधिवेशन र अन्य राजनीतिक विषयमा छलफलका लागि कांग्रेसका युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा, जीवन परियार, बद्री पाण्डे र प्रदीप पौडेललगायत नेताहरू मंगलबार बिहान ९ बजे देउवानिवासमा पुगेका थिए । सो क्रममा करिब एक घन्टा समसामयिक विषयमा कुराकानी भएको छ । कांग्रेसले यसपटक अनलाइनमार्फत क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यताको विवरण संकलन गरेको छ । अहिलेसम्म आठ लाखभन्दा बढी सदस्यको विवरण प्राप्त भएको छ । समितिले अन्तिमपटक मौकास्वरूप जिल्ला र क्षेत्रीय समितिहरूलाई मंगलबार राति १२ बजेभित्र क्रियाशील सदस्यताको विवरण अपडेट गरिसक्ने म्याद दिएको छ ।
तर, प्राप्त विवरणमाथि छानबिनको काम सुरु भएको छैन । जबकि क्रियाशीलको विवादकै कारण पार्टीको महाधिवेशन प्रभावित हुँदै आएको छ । यसअघि १३औँ महाधिवेशनमा नरहरि आचार्य नेतृत्वको छानबिन समितिले साढे चार लाख सदस्यता छानबिनका लागि ६ महिना लगाए पनि बढी विवाद रहेका ५० हजार सदस्यता १४औँ महाधिवेशनका लागि थाती राखेको थियो । यसपटक त्यसको करिब दोब्बर क्रियाशील सदस्य छन्, तर त्यसमाथि छानविनका लागि समय छैन । अहिलेको रमेश लेखक नेतृत्वको छानबिन समितिले क्रियाशील छानबिनका लागि थोरैमा पनि एक महिना लाग्ने अनुमान गरिरहेको छ । यसअघि निर्धारित कार्यतालिकाअनुसार १७ जेठभित्र छानबिन समितिले क्रियाशील छानबिन गरी केन्द्रीय समितिलाई बुझाइसक्नुपर्ने थियो । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा तहको अधिवेशनको मिति आउन अब १० दिन मात्रै बाँकी छ । ५ असारमा वडा र ७ असारमा पालिकास्तरको अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ । कांग्रेसले भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा १४औँ महाधिवेशन गर्ने गरी तल्ला तहको अधिवेशन तोकेको छ । कोरोनोको कहर र कांग्रेसको आन्तरिक अवस्था हेर्दा तोकिएको समयमा अधिवेशन हुनेमा आशंका छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments