काठमाडौं :अवैधानिक रुपमा राखिएका ९ बालकको उद्दार गरिएको छ । काठमाडौंको बाफलस्थित नमुना प्रगतिशील महिला समाजमा बालबालिकालाई अवैधानिक रुपमा राखिएको पाइएको खुलेको छ ।
बुधबार बालबालिका खोजतलास केन्द्र र राष्ट्रिय बालअधिकार परिषदको संयुक्त टोलीले अनुगमन गर्दा नागार्जुन नगरपालिका ४ बाफलस्थित उक्त संस्थामा ९ बालबालिकालाई अवैधानिक रुपमा राखेको फेला परेको हो ।
वैधानिक हैसियत नदेखिएको संस्थाले बालबालिकालाई मापदण्ड विपरीत राखेको पाइएको बालबालिका खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले बताए ।बालबालिकाको बाल यौन दूराचार भएको सुन्न आएको भन्दै उनले यस विषयमा अनुसन्धान गर्ने जानकारी दिए ।
यता बालबालिकालाई पढाउने भनेर ल्याएको तर पढ्न नपाएको बालबालिकाहरुले बताएका छन् । संस्थाको रेकर्डमा १५ जना बालबालिका रहेको देखिए पनि संस्थामा ९ जनामात्र भेटिएका छन् । अन्य ६ बालबालिकाबारे खोजी भइरहेको बालबालिका खोजतलास केन्द्रले जनाएको छ ।बालबालिका राख्ने संस्थाको निश्चित मापदण्ड भए पनि पालना नभएको पाइएको प्रहरीले बताएको छ । त्यहाँ द्वन्द्वपीडित अभिभावककका बालबालिकालाई पढाइदिने भनेर ल्याएको पाएको छ ।