काठमाडौं : ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दाका पूर्णबहादुर राजी छन् ।नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले राजीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे ।
कारागार प्रशासनका अनुसार राजीलाई केहीवेरअघि कर्तव्य ज्यान मुद्दाकै पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लक प्रहार गरेका थिए ।लगत्तै, राजीलाई वीर हस्पिटल भर्ना गरिएको थियो भने महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिएको छ ।विवादको कारणबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरीका डीएसपी नारायण चिमरियाले बताए ।दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए । झगडा हुनुअघि उनीहरू एकअर्काको जुम्रा हेरिरहेको अवस्थामा अन्य कैदीबन्दीले देखेका थिए ।एक्कासी कुटाकुट भएपछि अन्य कैदीबन्दीले छुट्टाएका थिए ।