गुल्मी : गुल्मीको सत्यवती गाउँपालिकाको बिभिन्न स्थानमा गएको पहिरोको भूगर्भबिद्को टोलीले अध्ययन सुरु गरेको छ ।यही ७ गते सत्यवती गाउँपालिका-३ र ४ को ठूलोलुम्पेक र लिम्घामा ठूलो जनधनको क्षती भएपछि खानी तथा भूगर्भ विभागको टोली शुक्रवार प्रभावित क्षेत्रमा पुगेको हो ।बिभागबाट राजेन्द्र आचार्य र सुलभ कठायतको टोली पहिरो गएको क्षेत्रमा पुगेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । टोलीले पहिरो जानुको कारण र अबको अबस्थाको बारेमा अध्ययन गर्ने बिभागका राजेन्द्र आचार्यले बताए ।
प्रभावितको दैनिकी सहज बनाउने प्रयास
प्रभावितहरुको दैनिकी सहज बनाउन थालिएको छ । प्रभावित क्षेत्रमा सामान्यरुपमा मोटरबाटो पुर्याइएको छ । पहिरोले अबरुद्ध बनेको बिद्युत जडान भएको छ । प्रभावित क्षेत्रमा खानेपानी र अन्य क्षतीको बिवरण संकलन गर्ने काम पनि भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।प्रभावितहरु सामुहिकरुपमा बसे पनि बिहान दिउँसोको समयमा आफ्नो खेतबारी र पशुचौपायाँहरुको रेखदेख गर्नतर्फ फर्किन थालेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ ।
प्रभावित क्षेत्रमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकार र बिभिन्न संघसंस्था गैरसरकारी संघ संस्थाहरुले आर्थिक एवं राहत सामग्रीहरु सहयोग गरिरहेका छन् ।प्रभावित क्षेत्रमा बिभिन्न संघसंस्थाहरु पुगेर स्वास्थ्य शिबिरलगायत बिभिन्न सहयोगहरु गरेर दैनिकी सहज बनाउ पहल गरिरहेका छन् ।पहिरोले विस्थापित भएकाहरुका लागि अस्थायी आवास निर्माण पनि सुरु गरिएको छ ।