काठमाडौं : अज्ञात समूहले एक दर्जन बढी जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट गराएको छ । कतिपय जिल्लामा सञ्चार सम्पर्क विच्छेद हुँदा सेवाग्राही मर्कामा परेका छन् ।प्रहरीका अनुसार झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट भएको छ । त्यस्तै, मोरङको उर्लाबारीमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ ।
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. २ सानो धुपईस्थित टावरमा गएराति १२ बजेतिर आगजनी गरिएको थियो । यद्यपि आगजनीबाट सञ्चार सम्पर्क भने विच्छेद भएको छैन ।आगजनीबाट टावरमा राखिएका केबल तारको बाहिर बेरिएको प्लास्टिक जलेको तर सञ्चार सेवा बिच्छेद हुने गरी क्षति नभएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । आगजनी भएको खबर पाएलगत्तै लुम्बिनी र सूर्यपुराबाट प्रहरी टोली घटनास्थल पुगेकाले ठूलो क्षति हुन नपाएको उल्लेख गर्दै कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।