काठमाडौं : अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएको छ । ईन्द्र सरोवरमा पानी अत्यधिक भएपछि बाँध खोलेर बाहिर निकालिँदै छ ।
कुलेखानीको क्षमता कूल एक हजार ५३० घनमिटर रहेको छ । बिहान ६ बजेसम्ममा एक हजार ५२५ दशमलव चार घनमिटर पानी भरिइसकेको छ । ३७ वर्षअघि निर्माण गरिएको ड्याम समुद्री सतहबाट ११४ मिटर उचाइमा छ ।
केही घण्टापछि बाँध खोलिने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ । सतर्कताको लागि सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरुलाई पनि सजग रहन र आवश्यक तयारी गर्न भनिएको छ ।
कुलेखानी आयोजनालाई सुख्खायाममा लागि ‘पावर ब्याक अप’का रुपमा राखिने गरेको छ । कुनै प्रसारणलाइन बिग्रँदा वा सब-स्टेसनमा गडबडी आउँदा प्राधिकरणले यो आयोजना सञ्चालन गरेर विद्युत आपूर्ति गर्छ ।
कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएर जोखिम भएकाले जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । कुलेखानीको पानी कुलेखानी खोला हँदै वाग्मती खोला भएर बग्छ ।त्यसैले मकवानपुरका भिमफेँदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।