काठमाडौं : रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्त भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई सदस्य सचिव नियुक्त गरेका हुन् ।
केशवकुमार विष्टको कार्यकाल यही असार ९ गते सकिएपछि यो पद रिक्त रहेको थियो । यो पदका लागि निवर्तमान सदस्यसचिव विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइरालालगायत पनि दावेदार थिए ।तत्कालीन एमालेको युवा संघको उपाध्यक्ष भइसकेका सिलवाल प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।गोल्डेन गेट कलेजका सञ्चालकसमेत रहेका उनी मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष हुन् । सिलवाललाई यसअघि तदर्थ समितिमार्फत नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वमा स्थापित गर्न खोजिएको थियो ।