वीरगञ्ज : विभिन्न व्यक्ति र संस्थासँग ५ करोड भन्दा बढी ठगी गरेको आरोपमा एक अस्पताल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।एसिया मेडिकेयर हस्पिटल प्राईभेट लिमिटेडका संचालक २८ वर्षीय सुरजकुमार सर्राफलाई प्रहरीले पक्राउ गरेको हो । उनले ४० भन्दा बढी व्यक्ति र संस्थासँग ५ करोड ७७ लाख ठगी गरेको दावी प्रहरीले गरेको छ ।
बाराको कलैया नगरपालिका-१३ घर भइ वीरगञ्ज महानगरपालिका-२ बस्ने सर्राफले वीरगंजको छपकैयामा एसिया मेडिकेयर हस्पिटल सञ्चालन गर्दै आएका थिए ।पर्सागढी नगरपालिका-६ बस्ने राकेशकुमार यादवसमेतको जाहेरीका आधारमा सर्राफलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीविरुद्ध बैंकिङ कसुर अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुरजले अस्पतालका लागि विभिन्न पार्टी तथा एजेन्सीसँग लिएको सर्जिकलका मेशिन, अस्पतालका सामान तथा ल्याबका अन्य मेशिनको भुक्तानीसमेत नदिएको गुनासो आइरहेको प्रहरी अधिकारीहरु बताउँछन् ।त्यसैगरि गाडी सोरुम, सुनचाँदी पसल बैंक तथा वित्तिय संस्थाका मानिसको जाहेरी प्रहरीमा परेको छ । एनआईसी एसिया बैंकबाट मात्रै उनले २ करोड ३० लाख ऋण लिएर नतिरेको तथ्य बाहिर आएको छ ।त्यसैगरि प्रहरीले वीरगञ्ज महानगरपालिका-१० बस्ने नितेश सर्राफलाई पनि पक्राउ गरेको छ । सिरहाको साविकको विद्यानगर गाविस-१ घर भइ वीरगञ्ज ३ बस्ने रामकेवल मण्डलको १० लाख ठगेको आरोपमा उनलाई पक्रेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।