Monday, June 21, 2021
घरBanner News३ वर्षदेखि पूर्णरुपमा बन्द रहेको रुम्जाटार विमानस्थल पुनः सन्चालनमा

३ वर्षदेखि पूर्णरुपमा बन्द रहेको रुम्जाटार विमानस्थल पुनः सन्चालनमा

ओखलढुंगा :३ वर्षदेखि पूर्णरुपमा बन्द रहेको ओखलढुंगाको रुम्जाटार विमानस्थल शुक्रबारदेखि पुनः सन्चालनमा आएको छ । रुम्जाटार विमानस्थलमा कालोपत्रे भएको लामो समयपछि शुक्रबार बिहान पहिलोपटक नेपाल एयरलाइन्सको विमान अवतरण गर्दा स्थानीयले भव्य स्वागत गरे ।रुम्जाटार विमानस्थलमा नियमित विमान उडान गराउने विषय गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा उम्मेदवारको एजेण्डा समेत बनेको थियो । शुक्रबार विहान काठमाडौंबाट पहिलो उडानका लागि टिकट काटेरै यात्रु बनेका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार र प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङलाई रुम्जाटारमा स्वागत गरिएको थियो ।

विमानस्थल कालोपत्र नभएका कारण २०७० सालअघिसम्म हिउँदमा विमान अवतरण भए पनि वर्षातको समयमा बन्द हुने गथ्र्यो । माधव नेपाल प्रधानमन्त्री हुँदा रुम्जाटार पुगेका बेला स्थानीयको माग बमोजिम उनले कालोपत्रेको पहल गरे पनि यात्रु नभएको भन्दै पछिल्लो ३ वर्षयता एयरलाइन्सहरुले उडान भर्न छाडेका थिए ।कालोपत्रे भएको सुन्दर विमानस्थलमा कुनै उडान नहुँदा विरामी, वृद्धवृद्धा र अत्यावश्यक कामले काठमाडौं तथा विराटनगर जानुपर्नेहरुले सास्ती खेप्नुपरेकाले नियमित उडान सञ्चालन गर्न आफूहरुले निरन्तर दबाब दिएको सांसद सुनुवारले बताए । उनले घुमी फिरी रम्जाटार भन्ने नेपाली उखान जस्तै निरन्तर पहलपछि घुमी फिरी पुनः रुम्जाटार विमानस्थल सञ्चालनमा आएको बताए ।

रुम्जाटारका स्थानीय बासिन्दा समेत रहेका प्रदेशसभा सदस्य गुरुङले अहिले प्रत्येक साताको शुक्रवार नेपाल एयरलाइन्सको एउटा उडान सञ्चालन हुने बताए । यात्रुको चाप बढेमा अन्य एयरलाइन्सले पनि उडान भर्न सक्ने तर नेपाल एयरलाइन्सको भने अनिवार्य उडान् हनुपर्ने बताए ।रुम्जाटार काठमाडौं नियमित उडान सफल भएपछि आवश्यकता अनुसार रुम्जाटारबाट प्रदेश राजधानी विराटनगरको पनि उडान थाल्न सकिने प्रदेशसभा सदस्य गुरुङको भनाइ छ । रुम्जाटारलाई लुक्लालगायत अन्य पूर्वी हिमाली जिल्लातर्फ उडान भर्ने तथा अवतरण गर्ने ट्रान्जिट समेत बनाउन सकिने प्रतिनिधिसभा सदस्य सुनुवारले बताए ।हाल रामेछापको मन्थलीबाट लुक्लासम्म उडान हुने गरेको छ । रुम्जाटार विमानस्थलको ऐतिहासिक महत्वसमेत रहेकाले यसलाई नियमित उडान तालिकामा राखिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख जितवहादुर श्रेष्ठले बताए ।गुरुङ समुदायको बसोबास रहेको नेपालको प्राचिन बस्तिमा पर्ने रुम्जाटार सांस्कृतिक र पर्यटकीय क्षेत्र पनि हो । नेपालको पहिलो गायिका मेलवादेवी यही गाउँमा जन्मिएकी थिइन् । कुनै समय रुम्जाटार राडीपाखीमा प्रख्यात थियो ।

 

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments