नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ पक्राउ परेका छन् ।उनलाई हेटौंडा उपमहानगरपालिका-८ फायरलाईनबाट गएराति प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सवारीसाधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले ज्वाला पक्राउ परेको बिषयमा अहिलेसम्म औपचारिक जानकारी गराएको छैन । तर प्रहरी स्रोतका अनुसार ज्वालालाई हिरासतमा राखिएर अनुसन्धान थालिएको छ ।यस अघि मकवानपुर प्रहरीले विप्लव समुहका चार कार्यकर्तालाई पक्राउ गरेको थियो । उनीहरुलाई हिरासतमा राखी विभिन्न मुद्दाहरु चलाएको छ । प्रहरीले बुधबार राति नेकपाका जाजरकोट इञ्चार्ज वीरबहादुर खड्का क्षितिजलाई पक्राउ गरेको थियो ।
एक महिनामा प्रहरीले विप्लवका ३८९ कार्यकर्तालाई पक्राउ गरेको छ । १४ जनाले आत्मसमर्पण गरेका छन् ।फागुन २८ गते सरकारले नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।पक्राउ परेका तीन सय ८९ मध्ये एक सय ५९ जना छाडिएको प्रहरीले जनाएको छ, जसमध्ये पाँच जना कारागार चलान भएका छन् । ११ जना धरौटी तिर्न नसकी कारागार चलान भएका छन् ।