काठमाडौं :काठमाडौं उपत्यकासहित देशको प्रायः स्थानमा शुक्रबार बिहान हल्का वर्षा भएको छ । यो क्रम अझै २ दिन चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार, सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायुका कारण उपत्यकासहित देशका विभिन्न स्थानमा शुक्रबार बिहान वर्षा भएको छ । देशका विभिन्न स्थानमा वर्षा भए पनि त्यसको विवरण भने मौसमपूर्वानुमान महाशाखालाई प्राप्त भइनसकेको उनले जानकारी दिए ।
मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन हल्कादेखि मध्यम खालको वर्षा भइराख्ने प्रक्षेपण गरेको छ । ‘सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायु चलेकाले अबको २ दिन देशका अधिकांश भागमा वर्षा हुनसक्ने देखिन्छ,’ मौसमविद् रिमालले भने ।सतहमा चल्ने प्रि-वायु बंगालको खाडीबाट आउने र त्यस्ता वायुले बोक्ने जलबाष्पले बादल बनाउन भूमिका खेल्ने उनको भनाइ छ ।