Friday, July 30, 2021
घरBanner Newsअन्नपूर्ण संरक्षण क्षेत्रमा मनाइयो नेपालमै पहिलो पटक 'ध्वाँसे चितुवा दिवस' !

अन्नपूर्ण संरक्षण क्षेत्रमा मनाइयो नेपालमै पहिलो पटक ‘ध्वाँसे चितुवा दिवस’ !

राजु आचार्य/पोखरा : नेपालमा पहिलो पटक कास्की जिल्लाको मादी गाउँपालिकामा ध्वाँसे चितुवा दिवस मनाइयो । विद्यार्थी, शिक्षक र संरक्षणकर्मीले एकदिनभर सो उत्सव मनाएका थिए । हिमालय मिलन मावि ताङतिङ तथा प्रकृतिका साथीहरूले चैत्र पहिलो साता सो कार्यक्रम संयुक्त रूपमा आयोजना गरेका थिए । यस अवसरमा ‘नेपालका बिरालाहरू’ तथा ‘नेपालमा ध्वाँसे चितुवाको अवस्था’ सम्बन्धमा दुईवटा जानकारीमूलक कार्यपत्र प्रस्तुत गरिएको थियो ।

अन्तर विद्यालयस्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो । सो अवसरमा ध्वाँसे चितुवा सम्बन्धी वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो।
विधार्थीहरुलाई ध्वाँसे चितुवाको सम्भावित वासस्थानमा लगेर जानकारी समेत गराइएको थियो । सो अवधिमा चितुवा कस्तो ठाउँमा बस्छ, के खान्छ, किन संरक्षण गर्ने भनेर जानकारी गराइएको थियो ।विद्यार्थीहरुले खुब चाख दिएर यस कार्यक्रममा भाग लिएका थिए ।

कक्षा ८ कि बिधार्थी रोबिना गुरुङले भनिन ‘मैले बाघ, चितुवा, हिउँ चितुवा र वन ढाडेको बारेमा मात्र सुनेकी थिए । ध्वाँसे चितुवा पनि हुँदो रहेछ, त्यो पनि हाम्रो गाउँ नजिकै ।यसको संरक्षणको लागि म एकदमै प्रयास गर्छु’ ।विद्यालयका शिक्षक दिलीप गुरुङले प्रतिक्रिया जनाए ‘बाँदर जसरी रुखमा चढ्ने यो जीवको सुन्दरता बयान गरी साध्य रहेनछ । कास्की जिल्लाको मादी गाउँपालिकामा मात्रै अभिलेख गरिएको यो स्तनधारी संरक्षणको लागि पहल गर्न हामी सधैँ तयार छौँ ‘।

लामो समय देखि ध्वाँसे चितुवाको अनुसन्धान र संरक्षणमा लागेका यादव घिमिरेले सो कार्यक्रमको समन्वय गरेका थिए । घिमिरेले भने ‘विगतमा गरिएको क्यामेरा ट्रयापको क्रममा यो क्षेत्रमा प्रजाति परेको थियो । दीर्घकालीन संरक्षणका लागि यो उत्सव आयोजना गरेका हौँ ‘। उनले थपे ‘उत्सव पछि यिनका चुनौतीहरूमा कमी आउने विश्वास गरेका छौँ’ ।

यो कस्तो प्रजाति हो ?

नेपालमा पाइने १२ प्रजातिका बिरालो प्रजातिहरूमध्ये ध्वाँसे चितुवा लजालु स्वभावको हुन्छ । नेपालका ११ जिल्लाका ३० भन्दा बढी स्थानहरूमा यिनको अभिलेख गरिएको छ । यिनको वास्तविक अवस्थाबारे अझै पनि थोरै मात्रै ज्ञान रहेको छ । नेपालमा सबै भन्दा पहिला सन् १८५३ मा काठमाडौँमा छालाको अभिलेख गरिएको छ । यिनले १ देखि ५ वटा सम्म बच्चा पाउने गर्दछन् । यसको पुच्छर र शरीरको लम्बाई बराबर हुन्छ । यिनीहरूको तौल २२ केजी सम्म अभिलेख गरिएको छ ।

नेपालमा तराई देखि ३६०० मिटरको उचाइसम्म यसको अभिलेख गरिएको छ । यो प्रजातिले भुइँमा भन्दा रुखमा धेरै समय बिताउने गर्दछ । रुखका टोढ़काहरूमा बस्ने भएकोले चितवनका उत्तरी भागमा यसलाई टोढके बाघ समेत भनिन्छ । यो रुखमा बाँदर झैँ चढ्ने उफ्रने तथा झुन्डिने गर्न सक्छ । बाँदरको सङ्ख्या नियन्त्रणमा सहयोगी यो स्तनधारी बन विनाश, डढेलो, चोरी सिकारी, अवैध व्यापार आदि कारणले अफ्ठयारोमा पर्दै गएका छन् । यिनीहरूले बाँदर सहित मृग, लोखर्के, कालिज, बँदेल लगायत खाने गर्दछन् ।नेपालमा यो प्रजातिलाई संकटापन्न सूचीमा राखिएको छ । नेपाल सरकारले यो प्रजातिलाई संरक्षित प्रजातिमा पनि सूचीकृत गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments