Monday, June 14, 2021
घरTrendingविराट ज्ञान महायज्ञको प्रचारप्रसार अभियान तिब्र

विराट ज्ञान महायज्ञको प्रचारप्रसार अभियान तिब्र

काठमाडौँ : चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुबाट शिवको मूर्ति निर्माण गर्न काठमाडौँको पशुपतिमा शुरु हुन लागेको विराट ज्ञान महायज्ञको प्रचारप्रसार अभियान तिब्र पारिएको छ ।देवघाटनमा सुन्दर पार्क सहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गर्न आर्थिक तथा धातु सङ्कलनको उद्देश्यले वैशाख एकदेखि ११ गतेसम्म हुन लागेको ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ को प्रचार प्रसारका कार्यक्रम तिब्र पारिएको छ ।

आज मात्रै मुल समितिका पदाधिकारीहरुसँगको भेटघाट कार्यक्रम काठमाडौँको नागार्जुनमा सम्पन्न भएको छ । नागार्जुन नगरपालिका १ र काठमाडौँ महानगरपालिका १६ का स्थानीयहरुले महायज्ञ सफल पार्न तन, मन र धन सबै तरहबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।नागार्जुनस्थित नाग भूषण मन्दिर संरक्षण एबं सामुदायिक संस्थाका अध्यक्ष विष्णुकुमारी सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा २०० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । सो क्रममा उहाँले महायज्ञ हाम्रो आफ्नै कार्यक्रम भएकाले यसलाई सफल पार्न पूर्ण सहयोग गर्ने बताउनुभयो ।

संस्थाका सचिव हरि अर्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा बोल्दै स्थानीय समाजसेवी शारदा घिमिरेले हिन्दु सनातन धर्मको बारेमा चर्चा गर्दै पशुपतिमा हुने कार्यक्रम सफल बनाउन हर क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।कार्यक्रममा पंडित इश्वरकृष्ण महाराजले देवघाटको महत्व र अष्टधातुबाट बन्ने शिवमूर्तिको बारेमा जानकारी गराउँदै ३ करोड बेलपत्र चढाउने र १ करोड दिप प्रज्ज्वलन हुने पशुपतिमा पुगेर मन, बचन र कर्मले सहयोग गरी पुण्य कमाउन आग्रह गर्नुभएको थियो ।

महायज्ञ मुल समारोह समितिका संयोजक केशव पाण्डेले रानीवनका स्थानीयहरुको अग्रसरतामा भएको कार्यक्रम महत्वपूर्ण र प्रशंसायोग्य रहेको बताउँदै यसले आफुलाई कार्यक्रम सफल रुपमा सम्पन्न गर्न थप हौसला मिलेको बताउनुभयो ।आजैको भेलाले विष्णुकुमारी सिंखडाको संयोजकत्वमा सोही क्षेत्रका लागि प्रचार प्रसार तथा आर्थिक सहयोग संकलन उपसमिति समेत गठन गरेको छ ।देवघाटधाम संरक्षण प्रतिष्ठानको अगुवाईमा हुन लागेको महायज्ञबाट करीब रु पाँच करोड बराबरको धातु सङ्कलन गर्ने लक्ष्य राखिएको महासचिव मदन मिश्रले बताउनुभयो ।

देवघाटमा चाँदी, सुन, तामा, पित्तल, ढलोट, चरेश, काँच, फलाम मिश्रित धातुबाट शिवको मूर्ति निर्माण हुँदैछ ।विगत तीन वर्षदेखि शुरु भएको अभियानअन्तर्गत अहिलेसम्म ७० क्वीन्टल धातु र रु ३२ लाख सङ्कलन भइसकेको छ । झण्डै रु आठ करोडको लागतमा देवघाटमा शिवको मूर्तिसहित जमीनमुनी पूजा र सङ्ग्रहालय कोठा, यात्रु विश्राम गृह, पार्क निर्माण गर्ने योजना छ ।पशुपतिमा हुने महायज्ञमा रु एक लाख दान गर्नेलाई संस्थापक सदस्य र रु पाँच लाख दान गर्नेलाई संस्थापक सदस्यका साथै संरक्षणक बनाइने आयोजकको भनाइ छ । यहाँबाट रु पाँच करोड संकलन गर्ने योजना छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments