नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आज गरेको बन्दको प्रभाव आंशिक परेको छ । बन्दका कारण सार्वजनिक यातायात कम मात्र चलेका छन् ।बन्द अवज्ञा गरेको भन्दै आज बिहान कैलालीमा नेकपा कार्यकर्ताले एक बसमा आगजनी गरेका छन् । बिहान ४ बजे म १ ख ४४१ नम्बरको बसमा आगजनी गरेका हुन् ।
त्यस्तै उनीहरुले मकवानपुरको थाहा नगरपालिकामा पनि एक ट्रकमा आगजनी गरेका छन् । ना५ ख ७४११ नम्बरको ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ । मकवानपुरको थाहा नगरपालिकास्थित शिखरकोट बजारदेखि ४ किलोमिटर उत्तरतर्फ त्रिभुवन राजपथमा बुधबार राति ट्रकमा आगजनी भएको हो। खुकुरी र बञ्चरोसहित कम्ब्याट ड्रेसमा आएको ४–५ जनाको समूहले ट्रकमा आगजनी गरेको उक्त ट्रकका चालकले बताए ।यसैबीच पोखराका दुई ठाउँमा शंकास्पद बस्तु फेला परेको छ । सभागृहचोक र भण्डारढिकको खेलमैदान नजिकै अज्ञात समूहले शंकास्पद वस्तु राखेको र अहिले त्यसको सेनाले जाँच गरिरहेको प्रहरीले जनाएको छ ।
पोखरा बजारक्षेत्रका मुख्य सडक सभागृह चोकको ट्राफिक पोस्ट र भण्डारढिकमा शंकापद बस्तु भेटिएको हो । विष्फोटक पदार्थ रहेको आशंकामा उक्त स्थान अहिले सेना र प्रहरीको नियन्त्रणमा छ। सवारी र पैदलयात्रीलाई आवतजावतमा रोक लगाइएको छ। नेपाल बन्दका कारण पोखरामा सवारी साधन चलेका छैनन् ।