Tuesday, July 27, 2021
घरBanner Newsचार वर्ष बितिसक्दा पनि आधा बनेन पुल

चार वर्ष बितिसक्दा पनि आधा बनेन पुल

चितवन: भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने पुल निर्माण सम्झौता गरिएको चार वर्ष बितिसक्दा पनि ४५ प्रतिशत मात्र काम भएको छ । सरकारी कर्मचारीको उदासिनता र ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माणमा ढिलाइ भएको हो । विसं २०७१ कात्तिक १९ गते रु १६ करोडको लागतमा ठेक्का दिइएकोमा पछि नक्साङ्कन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर रु २१ करोड ६८ लाख पुगेको थियो । पुल शिलान्यासको तीन वर्षमा काम सम्पन्न गर्नुपर्नेमा विभिन्न कारण देखाउँदै समय थप गरिएको छ ।

डिभिजन सडक कार्यालय चितवनका निमित्त प्रमुख गिताञ्जली कोइरालाका अनुसार थपिएको समय आउँदो वैशाख ९ गते सकिँदैछ । तर, हालसम्म ४५ प्रतिशत मात्र काम भएको उहाँले बताए । कोइरालाले नक्साङ्कन संशोधनमा १८ महीना लागेको, भूकम्पले छ महीना काम गर्न नसकेको र नाकाबन्दीका कारण तीन महीना ढिला भएको बताए । थपिएको समय सकिनलाग्दा र ठेक्कापछि नक्साङ्कन परिवर्तन गरी रकम थप गर्दा पनि काम हुन सकेको छैन । इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर संयुक्तरूपमा पुल निर्माणको जिम्मेवारी लिएका छन् । ठिमुरा र देवघाटलाई जोड्ने पुललाई विशेष पुलका रूपमा लिइएको छ । ठिमुरा–देवघाट पक्की पुल निर्माण उपभोक्ता समितिका उपाध्यक्ष टङ्कनाथ पौडेलले पर्याप्त बजेट र प्राविधिक कठिनाइका कारण समयमा पुल बन्न नसकेको बताए। सम्बन्धित निकायलाई घचघच्याउने काम भइरहेको भए पनि शुरुमा ढिला गरी काम शुरु भएको र बीचबीचमा रोकिएको उहाँले बताए ।

सो ठाउँमा ‘पिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ चार ‘स्पान’ राखेर बनाइँदैछ । पुलमा ४० मिटर लम्बाइका तीन क्रङ्किट स्पान बनाइनेछ । पुलको प्रमुख भाग ८० मिटर लामो स्टिलको ट्रस्ट संरचनासहित बनाउन लागिएको छ । सबै स्पान गरी पुल २०० मिटर लामो बन्ने जनाइएको छ । पुलको माथिको बिम र स्ल्याबको काम बाँकी छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments