Tuesday, November 30, 2021
घरBanner Newsजिल्लामा दर्ता नगरी ‘खानी’ सञ्चालन

जिल्लामा दर्ता नगरी ‘खानी’ सञ्चालन

काभ्रेपलाञ्चोक: जिल्लामा दर्ता नगरी अवैधानिकरुपमा वर्षौंदेखि चार वटा क्रसर उद्योगले रोडा–ढुङ्गा खानी सञ्चालन गर्दै आएका छन् । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा चार वटा खानी दर्ताबिना सञ्चालन भएको जनाएको छ । क्रसर उद्योग मात्रै दर्ता गरेकाले रोडा–ढुङ्गाको खानी दर्ता नगरी सञ्चालन गर्दै आएका हुन् । उपसमितिका अनुसार नमोबुद्ध नगरपालिका–४ मा पशुपति रोडा–ढुङ्गा उद्योगले नजिकै रहेको निजी जग्गामा दर्ता नगरी विसं २०६१ देखि खानी सञ्चालन गर्दै आएको छ भने विसं २०६५ देखि ओम सत्यसाई स्टोन क्रसर उद्योग प्रालिले रोशी गाउँपालिका–७ मा बिना दर्ता खानी सञ्चालन गर्दै आएको छ । नमोबुद्ध नपा–६ मा ब्लु साइमन रोडा–ढुङ्गा उद्योग प्रालिले विसं २०६६ देखि र बेथानचोक गाउँपालिका–४ मा एसएस रोडा–ढुङ्गा उद्योगले दर्ता नगरी खानी सञ्चालन गर्दै आएका हुन् ।

उपसमितिको अनुगमनले चार वटा खानी अवैधानिकरुपमा सञ्चालन भइरहेको प्रतिवेदन दिएको जिल्ला समन्वय समितिका संयोजक उद्धव केसीले जानकारी दिए । उहाँले भने“प्रतिवेदनका आधारमा उद्योगसँग अल्टिमेटम दिएर खानी सञ्चालनसम्बन्धी कागजात मागेका छौँ, गैरकानूनीरुपमा सञ्चालित सबै खानी बन्द हुन्छन् ।” उहाँका अनुसार जिल्लामा सञ्चाललित २३ वटा (ढुङ्गा, गिट्टी र बालुवा प्रशोधन तथा उत्पादन उद्योगमध्ये चार वटाको खानी अवैधानिक हो । उपसमितिको प्रतिवेदनमा काभ्रेपलाञ्चोकमा रहेका सबै क्रसरले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधिको दफा–३ बमोजिम कायम मापदण्डअनुसार नचलेको समेत उल्लेख छ ।

अधिकांश क्रसर नदीसँगै, विद्यालय र जङ्गल नजिक सञ्चालित भएको, अन्य केहीद्वारा वासिङको स्वीकृत लिएर क्रसर चलाइएको र अवैधानिक खानीका कारण बस्ती जोखिममा पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदेश सांसद चन्द्र लामाले दर्ता नभएका उद्योगलाई तत्काल बन्द गर्नुपर्ने र प्रदेश सरकारको मापदण्डअनुसार सञ्चालन नगरिएका उद्योगलाई मापदण्ड पुर्याएको सञ्चालन गराउनुपर्ने बताए । उहाँले भने, “जनप्रतिनिधि नभएको अवस्थामा क्रसर देखाएर बिना दर्ता सञ्चालन भएका खानी तत्कालै बन्द गर्नुपर्छ ।”

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments