Monday, June 21, 2021
घरBanner Newsदुर्गममा बिजुली बल्यो :स्थानीय बासिन्दा निकै हर्षित

दुर्गममा बिजुली बल्यो :स्थानीय बासिन्दा निकै हर्षित

जाजरकोट: बारेकोट गाउँपालिकाको दुर्गम गाउँमा छ वर्षपछि बिजुली बत्ती बलेको छ । बिजुली बलेपछि स्थानीय बासिन्दा निकै हर्षित भएका छन् । वर्षौंदेखि अन्धकारमा बस्दै आएका यहाँका स्थानीयवासी २४ घण्टा गाउँमा बिजुलीको सुविधा भएपछि दङ्ग परेका हुन् । गाउँपालिका–८ को सेपुखोलास्थित गाउँ नजिकैको सेपुखोलाबाट ३३ किलोवाट विद्युत् उत्पादन भएको छ । बिजुली बलेपछि सेपुखोला, गोलखारा, जुगेन, बन्डाला, रैनेपानी, छुतीपाल्ती, कोलयानी, डाँडागाउँलगायत क्षेत्रका ३३३ घरधुरी प्रत्यक्ष लाभान्वित भएको सेपुखोला लघु जलविद्युत् आयोजना निर्माण समितिका अध्यक्ष वेदराज सिंहले बताए।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्दको अनुदान, नगरपालिका तथा स्थानीयवासीको जनश्रमदान गरी कूल रु दुई करोड लागतमा विद्युत् आयोजना निर्माण भएको सिंहले बताए। बिजुली बाल्न प्रतिघरपरिवारले एक महीना बढी श्रमदान गरेका थिए । गाउँमा बिजुली बत्ती बलेपछि वडापालिका, विद्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी, पशु उपशाखालगायत कार्यालयको कामकाजमा सहज भएको छ । बिजुली बलेपछि बालबालिकालाई पढ्न लेख्न प्रत्यक्ष फाइदा पुगेको छ भने बालबालिकामा पढ्ने बानीको विकास भएको विद्यार्थी मानकुमारी बुढाले बताए ।

जाजरकोटको नलगाड नगरपालिका–७ दानी पिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन बन्ने भएको छ । उत्पादन कम्पनीका प्रमुख मोहन पन्त, ग्रिड उत्पादन कम्पनी प्रमुख नेत्र ज्ञवाली, नलगाड जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक रामकाजी थापा, सांसद गणेशप्रसाद सिंह, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल र नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावललगायतले स्थानीयसँग जग्गा अधिग्रहणका विषयमा छलफल गर्नुभएको छ । जाजरकोट, रुकुम र डोल्पा जिल्लामा बन्न लागेका विद्युत् आयोजनाको विद्युत् वितरण गर्नका लागि सवस्टेशन दानी पिपलमा निर्माण गर्न लागिएको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिए ।

रुकुमको उत्तरगङ्गा विद्युत् आयोजना, डोल्पाको दगदला, जाजरकोटको भेरी १, २, ३ र चिसापानी डाँडागाउँ विद्युत् आयोजना, ताँसुगाड आयोजना र नलगाड जलविद्युत् आयोजनाको विद्युत् वितरण गर्नका लागि दानी पिपलमा सवस्टेशन निर्माण गर्नका लागि स्थानीयसँग छलफल गरिएको हो । जमीन पक्का र सबैको बीचमा दानी पिपल भएकाले यहाँको १५० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments