Sunday, September 26, 2021
घरTrendingऐतिहासिक टक्सार बजारको अस्तित्व लोप हुने सङ्घारमा

ऐतिहासिक टक्सार बजारको अस्तित्व लोप हुने सङ्घारमा

भोजपुर: भोजपुरको प्रसिद्ध तथा ऐतिहासिक टक्सार बजारको अस्तित्व लोप हुने सङ्घारमा पुगेको छ । विसं १८७२ तिर यही बजारमा नेपालभर आवश्यक पर्ने तामाको ‘डोली पैसा’का नामले प्रख्यात टक उत्पादन हुन्थे तर, अहिले यस्तो ऐतिहासिक स्थल सुनसान प्रायः छ । यस क्षेत्रमा रहेका प्रसिद्ध धातु उद्योगहरु पनि एक पछि अर्को गर्दै बन्द हुँदै गएका छन् ।

पञ्चायत कालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौं मूल्यका धातुका सामग्री उत्पादन हुने र डोली पैसा छाप्ने टक्सार बजार पछिल्लो समय सुनसान हुँदै गएको छ । यहाँ रहेका पुराना कलात्मक शैलीका घरहरु भत्कने अवस्थामा पुगेका छन् । यस बजारको भू–भाग तत्कालीन खिकामाछा थुमअन्तर्गत रहेको यहाँका बूढापाकाहरुले बताउने गरेका छन् । इतिहासको अध्ययन गर्ने हो भने यो स्थल सो¥ह्रौं शताब्दीको अन्त्यतिर पाल्पाका सेन राजाको राज्यअन्तर्गत रहेको पाइन्छ । माझ किरातको खिकामाछामा टक काट्ने काम भएसँगै त्यति बेला यहाँ थुप्रै अड्डा अदालतहरु पनि खोलिएका थिए । विसं २००७ पछि स्थापना गरिएको सरकारी अड्डा भोजपुर बजारमा स्थापना गरिएसँगै टक काट्ने काम हटेपछि बजार पनि सुनसान बनेको यहाँका जानकारहरु बताउँछन् । विगतमा भोजपुरको धोद्लेखानीबाट तामा ल्याएर यहाँ ढोली पैसा बनाउने गरिन्थ्यो ।

विस १८७२ देखि १८८७ सम्म यहाँ ढोली पैसा बन्ने गरेको ऐतिहासिक तथ्य पाइन्छ । तत्कालीन नेपाल सरकारले विसं १८७० देखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र इलामसहितका पूर्वी पहाडका जिल्लाहरुमा खनिज पदार्थ उत्खनन गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरिएको थियो । अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालीगढले फलाम र तामाका डोली पैसा बनाउने गरेका थिए ।

टक्सारमा टक छाप्ने पेशा शाक्य वंशले गर्दैआएको स्थानीय जानकारहरु बताउँछन् । यहाँ टकमारी गरी बनाइएका एक तोला र दुई तोला तौलका डोली टक पैसा राणा शासनमा प्रचलित थियो । डोली टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन् । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति पनि सँगै ल्याए । टक्सारमा थेरवादी पहिलो बौद्ध विहार समेत रहेको छ । राणाहरूले टक्सारबाट डोली पैसा चलाएका बेला यहाँ मठमन्दिर, विहार, गुम्बा, चैत्य, धारा, पाटीपौवा र मूर्तिहरू बनाइएको स्थानीय बूढापाकाहरु बताउँछन् ।

ती सम्पदाको समय समयमा मर्मत सम्भार नहुँदा जीर्ण बन्दै गएका छन् । त्यसो त राणा शासन कालमा टक्सार ताप्लेजुङको ओलाङचुङ्गोला बाहेकको तिब्बतको व्यापारिक केन्द्र डिगर्चा जाने मुख्य बाटोसमेत रहेको थियो । टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ्ग, आसाम, सिलगढी र कोलकातासम्म निर्यात हुने गरेको स्थानीयवासी देवकुमार शाक्यले बताउनुभयो । दशकौं अघिसम्म सयौंको सङ्ख्यामा रहेका यहाँका उद्योगहरु हाल आएर पाँच÷छ वटामा सीमित भएका छन् । ती धातु उद्योग पनि बन्द हुने अवस्थामा रहेको स्थानीय उद्योगीहरुको भनाइ छ । अहिले आएर बजारवासी आफ्नो घरबार छाडेर अन्यत्र गएपछि बजारको बेहाल भएको ८३ वर्षीय स्थानीयवासी सूर्य बहादुर ताम्राकारले जानकारी दिनुभयो । बजारका हुनेखाने वर्ग अन्यत्र गएपछि बजार दुरवस्थामा पुगेको हो । सोही क्षेत्रमा रहेको सरस्वती गुम्बाको पनि संरक्षण हुन सकेको छैन । टक्सार बजारबाट भोजपुरको सिद्धकालीसम्म गुफाबाट पुग्न सकिने उहाँले बताउनुभयो ।

‘मिनी पाटन’ भनेर पनि चिनिने यो बजार भोजपुर सदरमुकामबाट करीव डेढ किलोमिटरको दूरीमा अवस्थित छ । यहाँ नजीकै टक्सार विमान स्थलसमेत रहेको छ । टक्सार बजारका धातु उद्योगहरुलाई ब्यूँताएर यस बजारको मौलिक पहिचानलाई जीवित बनाइराख्न पलायन भएका व्यवसायीहरुलाई स्थानीय स्तरबाट अभिप्रेरित गर्नुपर्ने खाँचो एकातिर छ भने अर्कातिर मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराउन जरुरी छ । यहाँका सामग्री देशभित्र मात्रै हैन विदेशमा समेत निर्यात हुने गर्छ । अहिले बजारको मागलाई यहाँका उद्योगहरुले धान्न सकिरहेका छैनन् ।

बजारमा जनघनत्व घटेर विभिन्न खालका धातुका सामग्री बनाउने जनशक्ति बाहिर पलायन भएपछि यस्तो अवस्था आएको हो । बसाइँ सरेर गएका मानिसहरुले आफ्नो घर बिक्री नगरी अलपत्र छाडिदिँदा बजारका घर मक्किन र भत्किन थालेको स्थानीय तहको ठहर छ । चहलपहल शून्य प्रायः भएर बजार विस्तार हुन नसक्दा बाहिरी मानिसहरुले पनि यहाँ व्यापार व्यवसाय सञ्चालन गर्न हिम्मत गर्न नसकेको वडा कार्यालयको भनाइ छ । मानवीय क्षति ननिम्तियोस् भनेर अब वडा कार्यालयले भत्किन लागेका घरहरुलाई भत्काउने भएको छ ।

यस अतिरिक्त टक्सार बजारको ऐतिहासिक महत्वलाई उजागर गर्न वडा कार्यालयले पहलकदमी लिने भएको छ । यसका लागि प्रदेश सरकारसँग वार्ता गरेर काम अगाडि बढाउने प्रतिवद्धता वडाध्यक्ष कुमार प्रसाद श्रेष्ठले व्यक्त गर्नुभएको छ । जिल्लाका विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकले ‘मिनी पाटन’को नामले पुकार्ने गरिएको यो बजार सुनसान बन्दा भोजपुर जिल्लाकै चिनारी पनि धमिलो हुँदै गएको महसुस यहाँका बासिन्दाहरुले गरेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments