Wednesday, September 22, 2021
घरBanner Newsप्राचीन धार्मिक देवल ओझेलमा

प्राचीन धार्मिक देवल ओझेलमा

अमरगढी : समुचित संरक्षण नपाएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित अजयमेरु गाउँपालिका–५ देवलदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि पुरातात्विक महत्वका यी ठाउँ ओझेलमा पर्न थालेका हुन् ।

जिल्लाकै प्रसिद्ध देवल मानिँदै आएका यी ठाउँको विकास र संरक्षणमा सरकार, सामाजिक सङ्घसंस्था र स्थानीय निकायले खासै चासो नदेखाउँदा खण्डहर बन्दै गएकामा जिल्लाका संस्कृतिविद्हरूले चिन्ता व्यक्त गरेका छन् । देवलदिव्यपुरका देवलहरू पाँच हजार वर्ष पहिले द्वापरयुगमा भारतको हस्तिनापुरबाट आएका पाँच भाइ पाण्डवले एकै रातमा पाँच देवल निर्माण गरेको किंवदन्ती छ ।

यी देवल नागीमल्ल राजाका पुर्खाहरूले बनाएको भन्ने किंवदन्ती पनि छ । राजा त्रिलचीका तीन छोरामध्येका पृथ्वी पालले यस क्षेत्रमा राज गरेको पाइएको छ । पृथ्वी पालका जेठा दाजु अजय पाल बसेको स्थानलाई उनकै नामबाट अजयमेरुकोट राखिएको बताइन्छ । देवलमा आफ्नो छ महीनाको छोरा घुँडा र कुमले हिँडिरहेको देखेपछि पृथ्वी पालले छोराले मल्ल युद्धजस्तै हिँडिरेहको ठानी त्यस दिनदेखि आफ्नो थर परिवर्तन गरेर मल्ल राखेको स्थानीय पण्डित गङ्गादत्त पन्तले बताउनुभयो ।

राजा महेन्द्रका पालामा योगी नरहरिनाथले देवल क्षेत्रमा रहेका शिलालेख अध्ययन गर्दा कुनै इतिहास पत्ता लगाउन नसक्नुभएको जानकारी पाएको पन्तले बताउनुभयो । देवलमा राखिएका पुरानो शिलालेखको बारेमा पत्ता लगाउन नसकेपछि नरहरिनाथले शिलालेखमा लेखिएको कुरालाई उतारी राजधानी लगेको पन्तले बताउनुभयो ।

यस्तै डडेल्धुरा जिल्लामा रहेका पर्यटकीयस्थलमा पुरातात्विक महत्व बोकेका कतिपय धार्मिक महत्वका विभिन्न ठाउँमा बाटोमा बटुवाहरूको बासस्थानका लागि बनाइएका धर्मशाला पनि ओझेल पर्न थालेका छन् । अमरगढी नगरपालिका–७ चमामा रहेका तीनकोठे धर्मशालाको उचित संरक्षण हुन सकेको छैन । अनपा–७ स्थित पोखरबजार नजिकै रहेको रातागुन (नाना सिलङ्गा) मा रहेको दुईकोठे धर्मशाला पनि माथिको छाना भत्किन लागेको छ । पाँच वर्ष पहिले सदरमुकाम नजिक रानीधारामा रहेको दुईकोठे धर्मशाला समेत भत्काई घर निर्माण भएको छ ।

यस ठाउँका सम्पदाको पहिचान ढल्ने अवस्थामा पुगेको बताउनुहुन्छ डोटेली राज्यका इतिहासविद् भोजराज भट्टराई । उहाँले यी ठाउँका सम्पदाहरूको संरक्षण गर्न सके आन्तरिक पर्यटकबाट बर्सेनि लाखौँ आम्दानी हुनसक्ने बताउनुभयो । सरोकारवालाको उदासीनले नेपालकै चौथो धाममध्येको पशुरामधाम मन्दिर तथा धार्मिकस्थलसमेत उपेक्षाको सिकार भएकोप्रति इतिहासविद् भट्टराईले चिन्ता व्यक्त गर्नुभयो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments