Sunday, December 5, 2021
घरBanner Newsसंस्कृति र भाषाको जर्गेनामा जुट्दै युवा पुस्ता

संस्कृति र भाषाको जर्गेनामा जुट्दै युवा पुस्ता

इलाम: केही समय अघि इलाम सदरमुकाममा मेची पर्यटन महोत्सव भयो । महोत्सवको उद्घाटन कार्यक्रममा देखाइएका ताप्लेजुङको शेर्पा नाच र झापाको सन्थाल नाचले निक्कै चर्चा पायो । कार्यक्रममा राई जातिको साकेला नाच, लिम्बूको धान नाच र नेवार समुदायको लाखे नाचले पनि स्थान पायो । हिजोआज यहाँ हुने धेरै कार्यक्रममा स्थानीय वेशभूषा र संस्कृतिलाई मान्यता दिन थालिएको छ । कहीँ सङ्घ÷संस्थाले त कहीँ स्थानीय सरकारले आफ्नो जातीय पहिचान रक्षार्थ विभिन्न कार्यक्रम गर्दैआएका छन् ।

यहाँको माङ्सेबुङ गाउँपालिकाले केही समय अघि मात्र लिम्बू भाषालाई कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ । देशमै पहिलो पटक यस गाउँपालिकाको वडा नं ५ मा कामकाजी भाषाका रूपमा लिम्बू भाषा कार्यान्वयनमा ल्याइएको हो । नेपालको संविधानको भाग ३ को धारा ३२ मा रहेको ‘प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्न पाउने हक हुनेछ’ भन्ने व्यवस्थामा टेकेर यो कदम चालिएको हो । स्थानीय भाषाको सम्मान गर्दै लिम्बू भाषालाई समेत सरकारी कामकाजी भाषाका रूपमा प्रयोग गर्न स्थानीय बासिन्दा राजी भएकाले यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगोले बताउनुभयो ।

यो भाषा पछिल्ला पुस्ताले प्रयोग गर्न नजान्ने भएकाले आउँदा वर्षदेखि अन्य विद्यालयमा समेत प्रयोगमा ल्याउने गाउँपालिकाको योजना छ । “तत्काल अन्य वडामा कार्यान्वयन थाल्न भने दोभाषेको अभाव छ, वडामा दोभाषे कर्मचारी छैनन्,” अध्यक्ष इदिङ्गोले भन्नुभयो – “तत्काललाई स्थानीय पाँच स्वयंसेवकले भाषा कार्यान्वयनमा सघाउने छन् । त्यसका लागि स्वयंसेवक समिति समेत बनाइएको छ ।” किरात याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष गायत्री थेगिनका अनुसार संस्कृतिको जर्गेनाका लागि गाउँघरका विवाह, कार्जे समेतमा पनि पराम्परागत पद्धति अपनाउन थालिएको छ । उहाँले भन्नुभयो – “हामी हाम्रा संस्कृतिअनुसारका बाद्यवादनहरू पनि प्रयोगमा ल्याउन थालेका छौं ।”

किरात याक्थुङ चुम्लुङले १ नम्बर प्रदेशसहित प्रदेशका सबै सरकारी कामकाजी भाषाका रूपमा लिम्बू भाषा लागू गर्न माग गर्दैआएको छ । “यो काम प्रदेश सरकारबाटै शुरु गरिनुपर्ने हो,” थेगिनले भन्नुभयो – “प्रदेश सरकारले कन्जुस्याइँ गरेको अवस्थामा कम्तीमा गाउँपालिकाले संविधानले दिएको अधिकार प्रयोग गरेर कार्यान्वयनमा ल्याउनु स्वागतयोग्य छ ।” इलामको रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा रहेका लोपोन्मुख लेप्चा जातिको संस्कृति र भाषाको संरक्षण गर्न समेत विभिन्न कार्य शुरु गरिएको छ । सरकारले लोपोन्मुखको सूचीमा राखेका यी जातिका संस्कृति उत्थानका लागि रोङ गाउँपालिकाले गुरुयोजना निर्माण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष शम्शेर राईले गुरुयोजनाभित्र लेप्चाको रहनसहन, बसोबासलाई प्राथमिकताको मुख्य आधार बनाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “लेप्चा भनेको हाम्रो संस्कृति हो । यसका बारेमा अन्तर्राष्ट्रिय स्तरसम्म उजिल्याउन सकियो भने पर्यटकीय दृष्टिले समेत हामीलाई माथि उठ्न सहज हुन्छ ।” राईका अनुसार लेप्चा समुदायको संस्कृति र लिपी बचाउन गुरुयोजना योजना निर्माण गरिएको हो । गाउँपालिकाले आफ्नो रणनीतिक कार्ययोजनामा आगामी ५ वर्षभित्रमा लेप्चा समुदायको परम्परागत सामग्रीहरुको संग्रहालयको निर्माण गर्ने कार्यलाई समावेश गरेको छ । एक वर्षभित्र लेप्चाको पुरातात्विक महत्वका बारेमा अनुसन्धान गर्ने र बाँकी ४ वर्षमा भौतिक निर्माण सक्ने लक्ष्य छ ।

राईका अनुसार संग्रहालय बनाउँदा उनीहरुको परम्परा नमर्ने गरी मात्र हैन कस्तो वस्तु प्रयोग गर्दा सहज हुन्छ भन्ने बारेमा समेत विज्ञहरुको सुझाव लिइने छ । गाउँपालिकाले लेप्चा समुदायका खाद्यवस्तु प्रवद्र्धनका लागि ‘सामुदायिक घरबास’ समेत सञ्चालनमा ल्याउने भएको छ । जनगणना २०६८ का अनुसार लेप्चा समुदायको कुल जनसङ्ख्या तीन हजार ४४५ रहेको छ । उनीहरूमध्ये तीन हजार २६४ जना ग्रामीण र बाँकी १८१ जना शहरी क्षेत्रमा बस्छन् ।

बान्तवा भाषाको शब्दकोष निर्माण

केही समय अघि मात्र बान्तवा भाषाको जर्गेना गर्न भन्दै सञ्चारकर्मी रीता राराहाङले तीन हजार शब्दको शब्दकोष सार्वजनिक गर्नुभयो । उहाँको शब्दकोषमा एकातिर नेपाली र अर्कातिर बान्तवा भाषाका शब्द रहेका छन् । राईहरूको भाषिक शब्द लोप हुँदै गएकाले शब्दकोष निर्माण गरेको लेखिका राराहाङको भनाइ छ । “मातृभाषालाई व्यावहारिक रूपमा झल्काउन शब्दकोष लेखेकी हुँ,” राराहाङले भन्नुभयो – “हाम्रो भाषा बोलिचालीका रूपमा मात्र प्रयोग हुन्छ । भाषालाई टेवा पु¥याउन शब्दकोष लेखिएको हो ।”

राराहाङ मात्र होइन किरात समुदायका पछिल्ला पुस्तासमेत संस्कृति र पहिचान जोगाउन लागेका छन् । विवाह, व्रतबन्ध पनि सांस्कृतिक र परम्परागत तरीकाले गर्ने र जातीय पोशाकलाई प्रयोगमा ल्याउने नीति अवलम्बन गर्न थालिएको किरात यायोक्खाका केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिनुभयो ।

नौमति जोगाउने प्रयास

विशेष गरी विवाह तथा अन्य कार्यक्रममा बजाउने नौमति बाजा हराउँदै गएको छ । विशेषतः दलित समुदायले बजाउने यो बाजा हिजोआज बजाउन छाडिएको छ । यो संस्कृति लोप हुने सङ्घारमा पुगेका बेला इलामका केही युवा भने नौमति व्यूँँताउन लागिपरका छन् । यसरी गाउँघरका कार्जेकुर्जेमा घन्किने यो बाजालाई जोगाउन संरक्षण समिति नै खोलेको इलाम देउमाई नगरपालिकाका विक्रम दास बताउनुहुन्छ ।

पछिल्लो समय विवाह, व्रतबन्धमा मात्र नभएर विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रम तथा पर्वमा पनि नौमति बाजाको माग हुन थालेपछि नौमति बजाउन शुरु गरिएको दासको भनाइ छ । “लोकसंस्कृतिको रक्षा गर्ने उद्देश्यले नै गजुरमुखी नौमति बाजा संरक्षण समितिको नाममा संस्था खोलेका हौं,” दासले भन्नुभयो – “देउमाई नगरपालिकाबाट पनि बाजागाजा जोड्ने कामसँगै समूह व्यवस्थापन गर्न र पोशाक बनाउन मद्दत मिलेको छ ।” दाससँगै १२ जनाको समूह अहिले गाउँघरका कार्यक्रम, विवाहमा गएर नौमति बजाउने गर्छन् । यसले संस्कृतिको जर्गेना हुनाका साथै संस्थालाई आर्थिक रूपमा सहयोग समेत मिलेको दासको भनाइ छ ।

पछिल्लो समय अन्य जातजातिले समेत आफ्नो धर्म, संस्कृति र भाषाको जर्गेनामा चासो लिन थालेका छन् । अन्य समुदायका संस्कृति देखेर पनि युवा वर्ग पछिल्लो समय संस्कृति संरक्षणमा लागिपरेको संस्कृतिविद् युद्धप्रसाद वैद्य बताउनुहुन्छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments