Sunday, October 17, 2021
घरTrendingजनयुद्धका घाइतेको खुट्टामा गोलीका छर्रा

जनयुद्धका घाइतेको खुट्टामा गोलीका छर्रा

बागलुङ : जनयुद्धका घाइते मनबहादुर घर्तीको खुट्टामा अहिले पनि गोलीका छर्रा छन् । गोली लागेको ठाउँ देखाउँदै ३३ वर्षीय घर्तीले उपचार खर्च नपाएको गुनासो गर्नुभयो । ताराखोला गाउँपालिका– ५ का घर्ती विसं २०६० तिर दाङमा भएको सशस्त्र भीडन्तमा घाइते हुनुभएको थियो । उपचारपछि हिँडडुल गर्न सक्ने भए पनि उहाँमा दुखाइको समस्या ठिक भएको छैन । “सामान्य अवस्थामा जस्तो हिँड्न सहज छैन”, उहाँले भन्नुभयो, “चिकित्सकले छर्रा हड्डीमा मिलेर बसेको छ निकाल्दा झन् समस्या हुन्छ भनेपछि निकालिएको छैन ।” घाइते भएपछि तत्कालै माओवादी सेनाको स्वास्थ्य टोलीले उहाँको प्राथमिक उपचार गरेको थियो ।

पछि सीमापार भारतसम्म पुगेर थप उपचार गरेको घर्तीले बताउनुभयो । उहाँले शरीरमा गोलीका छर्रा बोकेर हिँडेको १५ वर्ष भएको छ । जनयुद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा (माओवादी) अहिले नेकपाको रुपमा सरकारमा हुँदा पनि आफू अन्यायमा परेको उहाँको गुनासो छ । पछिल्लो समय पार्टीका जिम्मेवार केही नेताले फोन गरेर काठमाडौँ आउनुस् उपचार खर्च दिलाउँछौँ भनेर आश्वासन दिएको घर्तीले बताउनुभयो । घाइते भएपछि जनमुक्ति सेनामा निष्क्रिय बन्नुभएका घर्ती शान्ति प्रक्रियासँगै पार्टी राजनीतिमा सक्रिय हुनुभएको थियो । अहिले उहाँ गाउँकै एक जलविद्युत् आयोजनामा व्यवस्थापकको रुपमा कार्यरत हुनुहुन्छ ।

नेपालको अवस्था फेरिन्छ र जनजीविकामा आमूलपरिवर्तन हुन्छ, भन्ने विश्वासमा आफू जनयुद्धमा होमिएको घर्तीको भनाइ छ । द्वन्द्वपीडितको नाम भजाएर कतिपयले राज्यबाट सेवा सुविधा लिएको उहाँको आरोप छ । आर्थिक सहयोग पाएमा गोलीका छर्रा निकाल्ने सोच उहाँको छ । जनयुद्धले घर्तीको परिवारमा अर्को पनि पीडा दिएको छ । उहाँका माइला दाजु बाजेन्द्र विसं २०५८ देखि बेपत्ता हुनुहुन्छ । आमा, जेठा दाइ र भाइसहित परिवारमा बस्दै आउनुभएका घर्तीले १२ कक्षासम्मको अध्ययन गर्नुभएको छ । कक्षा ८ मै पढाइ छाडेर जनयुद्धमा होमिनुभएका उहाँले शान्ति प्रक्रियापछि पढाइ अघि बढाउनुभएको थियो । गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले उपचार खर्चको लागि गाउँपालिकाबाट प्रक्रिया अघि बढाइएको बताउनुभयो । “गृह मन्त्रालयमा सिफारिस पठाएका छौँ”, उहाँले भन्नुभयो, “सबैले पाउँदा उहाँको कसरी छुट्यो हामी पनि अनविज्ञ छौँ ।”

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments