Tuesday, June 15, 2021
घरBanner Newsपचास वर्षमा गाउँमै नागरिकता

पचास वर्षमा गाउँमै नागरिकता

पर्वत: उमेर ५० वर्ष पुगिसक्दा पनि अहिलेसम्म नागरिकता पाएकी थिइनन् उनले। नागरिकता माग्दासमेत सौता र सौतेनी छोरीले अहिलेसम्म बनाइदिएनन्। नागरिकताकै अभावमा विधवाभत्ता समेत पाउन नसकेकी रुपा पौडेल क्षेत्रीले शुक्रबार गाउँघरमै नागरिकता पाइन्।

जिल्ला प्रशासनको टोलीले कुस्मा नगरपालिका–१४ खौलामा आयोजना गरेको घुम्ती शिविरमा उनलाई नागरिकता दियो। परिवारको सदस्य हो भनेर सौता र छोरीले नागरिकता नबनाइदिएका कारण अहिलेसम्म सबै अधिकारबाट वञ्चित भएकी ५० वर्र्षीया पौडेल क्षेत्रीले शुक्रबार नागरिकता पाउँदा दंग बनिन्। ‘हामीजस्ता निमुखाले पनि घरमै आएर नागरिकता पाउँदा सबैभन्दा ठूलो खुसी मिलेको छ।’ –उनले भनिन्।

सात वर्ष पहिले दोस्रो विवाह गरेर खौला लाँकुरीमा आएकी रुपाका श्रीमान् भीमबहादुर पौडेलको दुई वर्ष पहिले मृत्यु भएको हो। श्रीमान्को मृत्युपछि नागरिकता नहुँदा उनले विधवाभत्ता समेत पाएकी थिइनन्। सात वर्षका अपांग छोरासमेत छन् उनको पनि जन्मदर्ता भएको छैन। ‘नागरिकता माग्दा सौता र छोरीले उल्टै धाकधम्की दिन्थे’, उनले भनिन्– ‘आज बल्ल मैले न्याय र अधिकार पाएकी छु।’

नागरिकताका लागि सनाखत गर्न नमानेका सौतालाई जनप्रतिनिधि र प्रहरीसमेत पठाएर घुम्ती शिविरमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए। गाउँ–गाउँमा धेरै महिला परिवारको अपहेलना सहेर बस्दै आएका र नागरिकतासमेत नपाउँदा अधिकारबाट पनि वञ्चित भएको भेटिएपछि यस्ता हिंसापीडित महिलालाई नागरिकता दिने अभियान सञ्चालन गरिएको उनको भनाइ छ। प्रजिअ ढकालको पहलमा दुई महिनाको अवधीमा पाँच जना हिंसापीडिडत महिलालाई परिवारका सदस्यलाई प्रहरीमार्फत झिकाएर नागरिकता दिइएको छ।

यसैगरी शुक्रबार भएको शिविरमा १ सय १६ जनालाई नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा नारायण पौडेलले जानकारी दिए। शिविरमा कुस्मा नगरपालिका वडा नं १२,१३ र १४ तथा फलेबास नगरपालिका वडा नं १ र २ का बासिन्दा लाभान्वित भएका छन्। शिविरमा ७७ जनाले फोटोसहितको मतदाता नामावली संकलन गरिएको छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments