Sunday, December 5, 2021
घरBanner Newsबार्‍हौँ शताब्दीको राजधानी सिञ्जा ओझेलमा

बार्‍हौँ शताब्दीको राजधानी सिञ्जा ओझेलमा

सिञ्जा, जुम्ला: गमगढी सडकखण्डअन्तर्गत सिञ्जा हुँदै मुगु रारा ताल पुगिन्छ । रारा जाने पर्यटकका लागि छुटाउनै नहुने गन्तव्य पनि हो, सिञ्जा सभ्यता । सरकारले नयाँ गन्तव्यका रूपमा राखेको सिञ्जा नेपाली खस भाषा र खस सभ्यताको उद्गम थलो पनि हो । तर, अहिले सरकारी उदासीनताका कारण सिञ्जा सभ्यता सङ्कटमा पर्दै गएको छ । यहाँका शिलालेख, ऐतिहासिक स्थल, पाण्डव गुफा, विराट दरबार, कनका सुन्दरी मन्दिरलगायत ढुङ्गाले कुँदिएका विभिन्न आकृति अलपत्र छन् । तिनको भग्नावशेष मात्रै भेटिन्छन् । संरक्षणतर्फ राज्यको ध्यान जान सकेको छैन ।

विसं १४५५ मा राजा जालन्धरले सिञ्जा राज्य स्थापना गरेका थिए । राजा जालन्धर शिवभक्त भएकाले शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ जोडेर सिञ्जा नाम राखेको जनविश्वास छ । ‘जालन्धरकी रानी वृन्दाले बास गरेको’ भनी सिञ्जामा आज पनि पूजा गरिने देवीलाई ‘वृन्दावासिनी’ भनिन्छ । पुराणमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको छ । यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा ‘बिन्नैनी’ भनी उच्चारण गर्ने गरिन्छ ।

खस राजा नागराज र उनका उत्तराधिकारीले सिञ्जा नगरमा करीब ३०० वर्षसम्म शासन गरेका थिए । त्यस अवधिमा सिञ्जा क्षेत्र राजधानी मात्र होइन, एक चर्चित सभ्यताका रूपमा विकास भएको इतिहास छ । यिनै खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुई पटक भन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कमाउ गरुवालसम्मका तमाम राज्यलाई आफ्नो साम्राज्यभित्र गाँभेको पाइन्छ ।

देशले विभिन्न कालखण्ड पार गरे पनि सिञ्जा नेतृत्वको उपेक्षामा परिरह्यो । विगतमा प्रसिद्ध मानवशास्त्री डोरबहादुर विष्ट, डा हर्क गुरुङ र शताब्दी पुरुष सत्यमोहन जोशीले कर्णालीको जनजीवनबारे लेखे । यसमा रत्नाकर देवकोटा छुटाउनै नहुने नाम हो । यो सूचीमा शौभाग्य शाह पनि पर्दछन् । अहिले कर्णाली र सिञ्जा सभ्यताबारे डा दीपेन्द्र रोकाया र डा कलबहादुर रोकायाले कलम चलाइरहेका छन् ।

सिञ्जा सभ्यता विकासको लामो शृंखला छ । सामाजिक व्यवस्था, ब्राह्मणको उच्च स्थान र सिञ्जा सभ्यतामा दरबारसम्म पहुँच भएका ब्राह्मणले राज्यबाट भूमि दान वा कृपा प्राप्त गरेका थिए । तिनीहरूलाई राज्यको कर लाग्दैनथ्यो । राजकाजमा सल्लाहकार, राजदूत, धर्माधिकारी, न्यायाधिकारी र प्रशासनिक कर्मचारीमा ब्राह्मण कार्यरत रहेको इतिहास भेटिने गरेको छ ।

राज्यको राजधानी रहेको सिञ्जा आफैंमा महत्वपूर्ण स्थान हो । कर्णाली प्रदेशका खस ब्राह्मण, क्षेत्री, ठकुरी, कामी, दमाई, सुनार, सार्की, सन्न्यासी मस्टो मान्ने भएकाले यिनीहरू प्रकृतिपूजक हुन् जुन तराईका ब्राह्मण र क्षेत्रीले मान्ने देवताभन्दा सर्वप्राचीन हुन् भनेर विद्वान्हरूले लेखेका छन् । यसबाट कर्णालीका खस आदिवासी हुन् भन्न सकिन्छ ।

तत्कालीन खस राज्यको राजधानी रहेको कनका सुन्दरी गाउँपालिका हाडसिञ्जाका ८१ वर्षीय धनलाल हमालले ‘सिञ्जा सभ्यता’ ओझेल पर्दै गएकाप्रति चिन्ता व्यक्त गरे । हमाल मात्रै होइन, सिञ्जा सभ्यता सङ्कटमा पर्दै गएको भन्दै सिञ्जा सिमपाटीका ४५ वर्षीय भैरव बोहोरा पनि चिन्तित छन् ।

यहाँ विराट दरबारको भग्नावशेष मात्रै भेटिन्छ । त्यसको संरक्षणतर्फ राज्यको ध्यान जान सकेको छैन ।

‘उइले मेरा दिन थिया र खिर खा भन्या खाइन, अइले मेरा दिन गया र मैको पानी पाइन (उहिले मेरा दिन राम्रा थिए, खिर खा भन्दा खाइनँ, अहिले मेरा दिन गए, मोही पनि पाइनँ)’ भने जस्तै सिञ्जा उपत्यकाको विकास गर्न नसकेकामा स्थानीय बासिन्दा पछुताएका छन् ।

सिञ्जा सभ्यताका अनुसन्धानकर्ता सिञ्जा लुड्कु–९ का वासुदेव उपाध्याय पनि यस्तै गुनासो गर्छन् । “हामी आफैंले सिञ्जा सभ्यताको संरक्षण, प्रवद्र्धन र जगेर्ना गर्न आवश्यक छ, सिञ्जा राज्य शक्तिशाली भएको बेला अपेक्षित विकास गर्न सकेनौं,” प्रतिप्रश्न गर्दै उनले भने – “अब यहाँको विकास गर्ने को छ र ?”

नेपालमा बोलिने सम्पूर्ण भाषा सरकारले संरक्षण गरे पनि नेपाली भाषाको उत्पत्ति भएको खस भाषाका विषयमा सरकारले सुन्न पनि नचाहेको उनी बताउँछन् ।
खसिया आखर’ शब्दकोश

कर्णाली प्रदेशको प्रमुख केन्द्र सिञ्जा नेपाली खस भाषाको उद्गम स्थल हो । यहाँबाट शुरु भएको खस भाषा अहिलेको नेपाली भाषाका रूपमा बोलिँदै आइएको छ । जुम्लालगायत कर्णाली क्षेत्रमा बूढापाकाले खस भाषा बोल्ने गर्दछन्् । युवा पुस्तामा खस भाषाको आकर्षण देखिँदैन । जुम्लामा पनि विभिन्न स्थानमा फरक शैलीमा खस भाषा बोलिन्छ ।

चार दरा रहेको जुम्लाको सिञ्जा दरामा खस साम्राज्य भएको बेला बोलिने खस भाषा बोलिन्छ । ब्राह्मण, क्षेत्रीलगायतको बाहुल्य रहेको ठाउँमा अलि फरक शैलीमा बोलिन्छ । असी दरा अर्थात् अहिलेको सदरमुकाम रहेको आसपासमा केही परिष्कृत खस भाषा रहेको छ भने चौधबीस दरामा तिब्बती र भोटे भाषासँग खस भाषा प्रभावित छ ।

तत्कालीन सिञ्जाबाट जारी ताम्रपत्र, स्वर्णपत्र, शिलालेखमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रूप फेला परेकाले सिञ्जालाई उद्गम स्थल भनिएको संस्कृतिका जानकार एवं खस भाषाका अध्ययनकर्ता रमानन्द आचार्य बताउँछन् । एक दशकदेखि ‘खसिया आखर’ शब्दकोश लेखिरहेका छन्, उनी । जुम्लाका एक मात्र संस्कृतिसम्बन्धी जानकारसमेत हुन्, आचार्य । उनले तत्कालीन जिल्ला विकास समिति जुम्लाको सहयोगमा खस भाषाको शब्दकोश लेख्न शुरु गरेका हुन् ।

आचार्य खस साम्राज्य रहेका कर्णालीका दैलेख, बाजुरा, मुगु, हुम्ला, डोल्पा र कालीकोट गएर पहिले बोलिने शब्द सङ्कलन गरेको बताउँछन् । उनका अनुसार शब्दकोशमा १० हजार शब्द संगृहीत हुनेछन्् । अहिले शब्दकोश टाइप भइरहेको उनले बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments