Sunday, October 17, 2021
घरBanner Newsकांग्रेस महासमिति बैठक: ‘पदाधिकारी’ विवादको सकस

कांग्रेस महासमिति बैठक: ‘पदाधिकारी’ विवादको सकस

काठमाडौँ : नेपाली कांग्रेसको विधान मस्यौदामा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे सहमति हुन नसक्दा जारी महासमिति बैठकमा त्यससम्बन्धी प्रतिवेदन अझै पेश हुन सकेको छैन । शीर्ष नेताबीच भएको सहमति पनि तत्काल भाँडिने अवस्थामा पुगेको छ । पदाधिकारीको विवादले महासमिति बैठकमा यसअघि नै पेश भएका राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलसमेत ओझेलमा परेको छ ।

महासमिति बैठकमा बोल्ने सहभागीहरूले छलफलका लागि विधान मस्यौदासम्बन्धी प्रतिवेदन माग गरे पनि त्यससम्बन्धी प्रतिवेदन अझै पेश हुन सकेको छैन । पदाधिकारीको सङ्ख्या र चयन प्रक्रिया विवादमा सहमति खोज्ने भन्दै पार्टीको पाँच दिनदेखि राजधानीमा जारी महासमिति बैठकको केही समयसमेत दिनुहँ प्रभावित हुँदै आएको छ ।

लामो रस्साकस्सीपछि मङ्गलबार राति शीर्षनेताबीच त्यसमा सहमति भए पनि बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट प्रतिवेदनको उक्त सहमति पारित हुन सकेन । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पदाधिकारी समावेशी नभएको भन्दै शीर्षनेताहरूले गरेको सहमतिमा असहमति प्रकट गरे ।

बैठकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, महेन्द्र यादव, फरमुल्ला मन्सुर, किशोरसिंह राठौर, सीता गुरुङलगायतले धारणा व्यक्त गरेका थिए । उनीहरूले नेतृत्वले गरेको सहमति समावेशी नभएको भन्दै अमान्य बताएका थिए ।विरोध गर्ने नेताहरू सभापति शेरबहादुर देउवा निकटका भएको भन्दै सहमति भाँड्न खोजेको आरोप रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायतका नेताले लगाएका छन् ।

बैठकमा वरिष्ठ नेता पौडेलले मात्र आफ्ना धारणा व्यक्त गर्दै केही केन्द्रीय सदस्यहरूले पदाधिकारी थप गर्ने विषयमा आफूलाई समावेशी विरोधी चित्रित गर्न खोजिएकामा दुःख व्यक्त गरेका थिए । शीर्ष नेतृत्वले मङ्गलबार विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्षसहित आठ पदाधिकारी रहने र कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने सहमति गरेको थियो । साथै कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने र कूल १६१ सदस्यीय केन्द्रीय समितिमध्ये ३३ जना समावेशीताका आधारमा सभापतिबाट मनोनीत हुने सहमति भएको थियो ।

पार्टी केन्द्रीय सदस्य मीन विश्वकर्माले भने बैठकमा अन्तिम मस्यौदा प्रतिवदेनमाथिको छलफल जारी रहेको र बैठक बिहीबार पुनः बस्ने जानकारी दिए । अहिले ९ बजे फेरि बैठक बस्ने तयारी छ । मंसिर २९ गतेदेखि जारी महासमिति बैठक आजसम्म सिंहदरबारको पश्चिम गेटअघिको यलम्बर पार्टी प्यालेसमा बस्दै आएको थियो ।

काङ्ग्रेसमा संस्थापन पक्ष पदाधिकारी सङ्ख्या धेरै बढाउन नहुने र बढाए पनि सबैको निर्वाचन गर्न नहुने पक्षमा छ । संस्थापनइतर पक्ष भने केन्द्रीय कार्यसमितिको सङ्ख्या बढाएसँगै पदाधिकारी सङ्ख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारी निर्वाचित हुनुपर्ने अडानमा छ । दुवै पक्षको अडानका बीच मङ्गलबार सो सहमति भएको थियो । कांग्रेसको विधानमा हाल कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments