Thursday, June 17, 2021
घरBanner Newsकांग्रेस महासमिति बैठक : विधानमा सहमति नजिक

कांग्रेस महासमिति बैठक : विधानमा सहमति नजिक

काठमाडौं : संस्थापन पक्ष र संस्थापन इतर समूहबीचको लामो रस्साकस्सीपछि मुख्य विपक्षी दल नेपाली कांग्रेसको विधान संशोधन प्रस्तावमा सहमति जुटेको छ । मंगलबार महासमिति बैठकको बन्द सत्रपछि बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा विधान प्रस्तावमा दुवै पक्षबीच सहमति जुटेको हो ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूको बैठकमा आठजना पदाधिकारी रहने गरी विधान प्रस्तावमा सहमति जुटेको केन्द्रीय सदस्य तथा विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिए । उनका अनुसार नेताहरूबीच सभापति, दुई उपसभापति, दुई महामन्त्री र दुई सहमहामन्त्री निर्वाचित हुने र कोषाध्यक्ष सभापतिले मनोनीत गर्ने गरी सहमति जुटेको हो । नेता लेखकका अनुसार केन्द्रीय कार्यसमिति १६१ सदस्यीय हुनेछ । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि नेताहरूका बीचमा पदाधिकारीको विषयमा सहमति जुटेको पुष्टि गरे । उनले मंगलबार बेलुकी भएको सहमति अनुसार विधान मस्यौदा केन्द्रीय कार्यसमितिबाट पारित गरेर महासमिति बैठकमा पेस गरिने बताए । बुधबार बिहान ११ बजेपछि केन्द्रीय समिति बैठक बस्ने भएको छ ।

मंगलबार दिउँसो ३ बजेसम्म नेताहरू महासमिति बैठक स्थगित गरेर पदाधिकारी संख्या र निर्वाचन प्रणालीका विषयमा टुंगो लगाउन संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफलमा व्यस्त थिए । मंगलबार बिहान पनि महासमिति सदस्यहरूले विधान प्रस्ताव पेस नभएको भन्दै होहल्ला गरेपछि उनीहरू बन्दसत्र स्थगित गरेर छलफलमा जुटेका थिए ।

महासमिति सदस्यहरूले विधान प्रस्ताव पेस नहुँदासम्म चल्न नदिने अडान राखेपछि स्थगित भएको बन्दसत्र अपराहृन ३ बजेपछि पुनः सुरु भएको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेताहरूका बीचमा पदाधिकारीमा लगभग सहमति जुटिसकेको र केही प्राविधिक कुरा मात्रै टुंग्याउन बाँकी रहेको आश्वासन दिएपछि उनीहरू बन्द सत्र सुरु गर्न सहमत भएका थिए ।

यसअघि संस्थापन पक्ष र संस्थापन इतर पक्ष आआफ्नो स्वार्थसिद्ध हुने गरी विधानमा व्यवस्था गर्ने ढंगबाट प्रस्तुत भइरहेका कारण कांग्रेसको विधान मस्यौदाले पूर्णता पाउन सकेको थिएन । संस्थापन पक्षले आधा पदाधिकारी निर्वाचित र आधा मनोनीत हुने व्यवस्था विधानमा गर्नुपर्ने अडानमा थियो भने संस्थापन इतर समूहले सम्पूर्ण पदाधिकारी निर्वाचित हुनुपर्ने अडान राखिरहेको थियो ।

पार्टीको विधान अनुमोदनका लागि महासमिति बैठकमा पेस हुन नसकेपछि कांग्रेस महासमिति सदस्य आक्रोशित थिए । पार्टीको विधान मस्यौदा महासमितिमा पेस हुनुपर्ने भन्दै आक्रोशित महासमिति सदस्यहरूले नाराबाजी गरेका कारण सोमबार पनि झन्डै तीन घन्टा बैठक अवरुद्ध भएको थियो ।

महासमिति बैठक लम्बिने

महासमिति बैठक लम्बिने देखिएको छ । बैठक सुरु भएको चौथो दिन मात्रै पदाधिकारीको विषय टुंगिएका कारण लम्बिने देखिएको हो । प्रवक्ता शर्माले महासमिति बैठक लम्बिने बताएका छन् । उनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा विधान प्रस्ताव महासमितिमा पेस गर्न ढिलाइ भएका कारण बैठक लम्बिन सक्ने बताए ।

‘प्रेसमा विधान छाप्न कम्तीमा २४ घन्टा लाग्ने रहेछ । विधान छापेर महासमिति सदस्यहरूलाई बाँड्न र छलफल गर्न महासमिति बैठक लम्बिन्छ,’ उनले भने, ‘पुस ५ गते पनि छलफल गर्छौं ।’ उनका अनुसार पुस ५ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा महासमिति बैठकको बन्दसत्र चल्ने छ । मंसिर २९ गते उद्घाटन भएको महासमिति बैठक पुस ४ गते समापन हुने भनिएको थियो । नेताहरूबीच सहमति हुन नसकेपछि बैठक लम्बिएको हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments