Tuesday, July 27, 2021
घरBanner Newsमुक्तकमैयाको दुखेसोः ओत लाग्यौँ तर भोक मेटिएन

मुक्तकमैयाको दुखेसोः ओत लाग्यौँ तर भोक मेटिएन

भीमदत्तनगर: वाणी मुक्तकमैया शिविरका बिप्टी चौधरीले घर खर्च चलाउन बस्ती छेउमै रहेको मछेली नदीमा बालुवा छान्न थालेको दशक बितिसक्यो । विसं २०५८ मा कमैयाबाट मुक्त भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी शिविरमा आउनुभएकी उनीको परिवारलाई गर्जो टार्न अझै पनि मजदूरी गर्नुको विकल्प छैन ।“हिउँदका बेला नदीमा दिनभरि कडा परिश्रम गरेर बालुवा, गिट्टीसित सङ्घर्ष गर्दै आएको छु, मजदूरी नगरे त एक छाक टार्न पनि मुश्किल पर्छ”, बिप्टीले भनिन्, “दैनिक ५०० जति कमाइ हुन्छ, त्यसले घरको नून-तेल खर्च चलाएकी छु ।”

चौधरीका छोरा र श्रीमान् पनि मजदूरी गरेर परिवारको खर्च जुटाउन त्यसैमा लागिपरेका छन् । “सरकारले कमैयाबाट ल्याएर ओत लाग्ने ठाउँ त दियो ।” उनको गुनासो थियो, “नदीको बगरमा दिएको पाँच कट्ठा जमीनमा उब्जनी नहुँदा कामै लागेन ।” स्थानीय चन्द्रलाल चौधरीले कमैयाबाट मुक्त हुँदा पाएको जमीन वर्षौंदेखि बाँझै छ । “यो खेतमा नत तरकारी न अन्नबाली नै फल्छ”, उनले भने, “अहिले त खेतमा जानै छोडिसक्यौँ ।” पाँच सय ६८ परिवार मुक्तकमैया रहेको उक्त शिविरमा करीब १५० परिवारको खेत बलौटे हुँदा उब्जनी नहुने समस्या छ । “पहिले कमैया बसेर दुःख गर्‍यौँ”, उनले भने, “अहिले मजदूरी गरेर भोक मार्दै छौँ ।” डेढ दशक कमैया बसेका उनीहरूमा पुनःस्थापनाको लामो समय बितिसक्दा पनि मुक्तकमैयाको अवस्थामा सुधार नभएकाले बस्तीका युवा रोजगारीका लागि पलायन भएका छन् ।

“नदीमा आएको बाढी गाउँ पस्दा पूरै खेतमा बालुवा जमेको र बस्ती समेत कटान गरेको छ”, शिविरका भूमिलाल चौधरीले भने, “दिगो व्यवस्थापनमा ध्यान नदिँदा फेरि कमैया बस्नुपर्ने अवस्था आउँदैछ ।” बस्ती बचाउन यहाँको मछेली नदीमा तटबन्ध निर्माणका लागि पहल गरिदिन उनले आग्रह पनि गरेका छन् । शिविरका अधिकांश परिवारले अझै पनि अरुको जमीन अधियामा लिएर जीविका चलाइरहेका छन् । “विसं २०६४ मा आएको बाढीले खेतभरि बालुवाभरि दियो ।” स्थानीयवासी जमुना चौधरीले भने, “हामीले घरखर्च चलाउन अझै दुःख सहनुपरेको छ ।”

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments