काठमाडौंः मानव तस्करीको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा नेपाल फर्केकी छिन् । मानव तस्करको गम्भीर आरोप लागेपछि सरकारले नेपाल बोलाएको थियो । उनले अभियोगबारे आइतबार नै परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिएकी छन् ।
शेर्पालाई उनकै सवारी चालक वाङ्छु शेर्पाले लक्कीमाथि मानव तस्करी तथा श्रम शोषणको आरोप लगाएपछि परराष्ट्र मन्त्रालय र नेपाल सरकारले चासो व्यक्त गरेको थियो ।
परराष्ट्रले आरोपबारे उनीसँग स्पष्टीकरण नै सोधेको थियो । तर, शेर्पाले दिएको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएपछि परराष्ट्रले उनलाई काठमाडौंमै झिकाएको हो ।
राजदूत शेर्पाले अस्ट्रेलियाबाटै आरोपबारे पठाएको स्पष्टिकरण चित्त नबुझेपछि परराष्ट्रले नेपाल नै बोलाएको हो । परराष्ट्र मन्त्रालयले राजदूत शेर्पामाथि लागेको आरोपका सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
निजी चालक वाङ्छु शेर्पासँग पैसा लेनदेनलगायतको विवाद चुलिएपछि राजदूत शेर्पालाई फिर्ता बोलाउन नेपाल सरकारलाई चौतर्फी दबाव बढेको छ । वाङ्छुले राजदूत शेर्पा र उनका श्रीमान् न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन् ।