पोखरा: पोखराको सेती नदी खोचमा कायाकिङ गर्ने क्रममा मृत्यु भएकी अष्ट्रेलियन नागरिक क्यासिन्ड्रा इसाइज एमारीको हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ ।
नेपाल प्रेमीको क्यासिन्ड्रा मङ्सिर १३ गते कायाकिङ गर्ने क्रममा मृत्यु भएको हो । नेपालको प्राकृतिक सुन्दरतासँग रमाउने क्यासिन्ड्राको उनका अभिभावक आएर हिन्दूबौद्ध मिश्रित विधिबाट दाहसंस्कार गरेका हुन् ।
तेइस वर्षीया उनी पाँच वर्षदेखि नेपालमा आउनेजाने गर्दै आइरहेकी थिइन् । नेपाल आएपछि तीन-चार महीना विभिन्न ठाउँ घुमेर बिताउने उनले जलयात्रामा विशेष रुचि राख्ने गर्थिन् । उनी नेपाल प्रेमी भएकाले उनको नेपाली धर्मअनुसार दाहसंस्कार गरिएको उनकी आमा शुले जानकारी दिए। क्यासिन्ड्रा आमा बुबा र दिदीभाइ दाहसंस्कारका लागि नेपाल आएका थिए ।
पोखराको लामाचौर र हेम्जाको झोलुङ्गे पुल नजिकै अकलादेवि मन्दिर तलको खोचमा क्यासिन्ड्रा सवार कायक बेपत्ता भएको थियो । उनको खोजी गर्ने क्रममा १० मिनेटमै उनको खुट्टा देखेपछि उद्धार गरिएको नेपाल एशोसिएशन अफ जलयात्रा एजेन्सी (नारा)का अध्यक्ष निम मगरले जानकारी दिए।
उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो । मगरका अनुसार क्यासिन्ड्रा कायाकिङ एक्सपर्ट मानिन्थिन् । उनको जलयात्रामा राम्रो दख्खल थियो । हामी अघिपछि थियौँ । उनले कायक चलाइरहेको थिइन् । एक्कासी नदेखेपछि खोज्यौँ उनी ढुङ्गामुनि होलमा परेकी रहिछिन् । दश मिनेटमै उनको खुट्टा देखियो लगत्तै उद्धार गर्यौँ र अस्पताल पुर्यायौँ । अफ्सोच उनी बाँचिनन् ।
क्यासिन्ड्राले जापानमा सन् २०१७ मा भएको जलयात्रा विश्व च्याम्पियनशिप प्रतियोगितामा नेपाली खेलाडीलाई सहभागी गराउन भूमिका खेलेको मगरले बताए । नेपाललाई असाध्यै माया गर्ने भएकाले अभिभावकले हिन्दू संस्कारअनुसार दाहसंस्कार गरिएको मगरले बताए ।
क्यासिन्ड्राको शव नेपाली संस्कारअनुसार बाँसमा राखेर कात्रोले बेरेर मलामीसहित दुर्घटना स्थलमा लगिएको थियो । दुर्घटनाबाट उद्धार गरेर जुन ढुङ्गामा राखिएको थियो त्यही ढुङ्गामाथि नेपाली संस्कारअनुसार दाहसंस्कार गरिएको मगरले जानकारी दिए।