Sunday, September 26, 2021
घरBanner Newsएशिया प्रशान्त सम्मेलन : शक्तिको होड नभई सहकार्यमा जोड

एशिया प्रशान्त सम्मेलन : शक्तिको होड नभई सहकार्यमा जोड

काठमाडौँ : ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ मा शक्तिको होडबाट नभई एकापसमा मिलेर विश्वव्यापी साझा चुनौतीको सामना गर्न जोड दिइएको छ । सम्मेलनको औपचारिक शुरु हुने दिनको अघिल्लो दिन आज सहभागी मुलुकका राष्ट्र प्रमुख-सरकार प्रमुखका लागि आयोजित स्वागत समारोहमा विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थलबाट शान्ति, विकास र समृद्धिको सन्देश दिन सम्मेलन सार्थक हुने अपेक्षा गरिएको हो ।

सम्मेलनको औपचारिकरुपमा शनिबार हुनेछ भने सहभागी मुलुकका राष्ट्रप्रमुख-सरकार प्रमुख शुक्रबार काठमाडौँ आइसकेका छन् । आयोजक समितिका संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र प्रमुख-सरकार प्रमुखलाई स्वागत गर्दै सम्मेलनको अनौपचारिक थालनी भएको हो । सम्मेलनको नेपालको पर्यटकीय प्रवद्र्धन गर्नाका साथै यहाँको शान्तिप्रक्रिया र संविधान निर्माणपछिको रुपान्तरणको चरणबारे विश्वयापी सन्देश दिन सहयोगी हुने मानिएको छ ।

संयोजक नेता नेपालले एशिया प्रशान्त क्षेत्रका विद्यमान चुनौतीलाई सामना गर्ने सन्दर्भमा गौतमबुद्धको जन्मस्थल नेपालमा यो सम्मेलन हुनुको विशेष महत्व रहेको भन्दै विश्वव्यापीरुपमा भइरहेको शक्तिको होडको समस्याबाट मुक्त भई एकापसमा मिलेर मात्रै साझा समस्याको सामना गर्न सकिने बताए ।

सम्मेलनमा छलफल हुने महत्वपूर्ण विषयहरुले एकापसका समस्या र सम्बन्धको पहिचान गरी सहकार्य बढाउन पहल हुने जनाउँदै उनले बढीभन्दा बढी सम्पर्क सञ्जालको विस्तार र सहकार्यले मात्रै आफूहरुको सम्बन्ध विस्तार हुन सक्नेमा जोड दिए ।

आयोजक संस्था युनिभर्सल पिस फेडेरेशन (युपिएफ) अन्तर्राष्ट्रिय अध्यक्ष डा थोमस जी वास्लले सम्मेलनले विकास र समृद्धि तथा आपसी सहकार्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले विकासको साझा मुद्दामा सरकार, नागरिक समाज र सम्बद्ध सबै पक्षको उत्तिकै भूमिका हुने भएकाले सहकार्यका लागि आह्वान गरे ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सहभागी मुलुकका अतिथिहरुको सहभागिता थियो । सम्मेलनमा सबै धर्मका मानिस र धर्मगुरुको पनि सहभागिता हुनेछ । सम्मेलनमा छ राष्ट्र- सरकारप्रमुख तथा उपप्रमुख, पाँच प्रथम महिला, १० पूर्वराष्ट्रप्रमुख, एक उपप्रधानमन्त्री, पाँच सभामुख तथा उपसभामुख गरी ४५ देशका एक हजार ५०० विदेशी विशेष अतिथिको सहभागिता छ ।

स्वागत समारोहमा आयोजकले विशिष्ट अतिथिका लागि रात्रिभोज आयोजना गरेको थियो भने साँझ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत कार्यक्रम आयोजना गरेका छन्।

सम्मेलनले नेपालको सफल शान्तिप्रक्रिया र नयाँ संविधान निर्माणपछिको रुपान्तरणका प्रक्रियाका बारेमा विश्वव्यापी सन्देश दिनेछ । “वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयको सम्मेलनका लागि विशिष्ट अतिथिको आगमन बुधबारदेखि शुरु भएको थियो ।

सम्मेलनका लागि म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, छिमेकी भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालगायत विशिष्ट अतिथि काठमाडौँ छन् । सु की र सेनको नेपालको औपचारिक भ्रमणसमेत भएकाले उनीहरुले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीलगायतसँग भेटवार्ता भइसकेको छ। ती मुलुक र नेपालबीच अलग अलग द्विपक्षीय वार्ता भई सम्झौतासमेत भइसकेको छ ।

सम्मेलनका लागि टुभालुका राष्ट्रपति लाकोबा ताइया इतालेनी पनि काठमाडौँ आएका छन्। सम्मेलनमा सहभागी हुन शुक्रबार नाउरुका राष्ट्रपति बारोन वाका र समोआका राष्ट्रप्रमुख अफिओगा तुइमालियालिफानो भालेटोआ सुवालौभी द्वितीय आउँदै छन् ।

फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेदो बुधबार आएका थिए । उनीहरुले काठमाडौँ उपत्यकास्थित विभिन्न ऐतिहासिक एवं पर्यटकीय सम्पदाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments