काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि आमरण अनसन बस्ने घोषणा गरेका छन् ।तीन बुँदे माग अघि सार्दै डा केसीले ती माग आगामी पुस २ गतेभित्र पूरा नभए अनसनमा बस्ने चेतावनी दिएका छन् ।
आज एक पत्रकार सम्मेलनमा डा केसीले जनता मुखी र विद्यार्थीमुखी शिक्षा ऐन ल्याउनका लागि बारम्बर सत्याग्रहसहितका आन्दोलन हुँदै आएको भएपनि ऐन जारी गर्ने बेला भ्रष्ट र माफियाहरुका स्वार्थका कारण जारी हुन नसकेको गुनासो गरे ।
आफ्नो साउनको सत्याग्रहका क्रममा भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयकमा संशोधन हुनुपर्ने विषय उल्लेख भएको भएपनि मेडिकल माफियाको प्रभावमा परेर सरकारले ढिलासुस्ती गरिरहेको उनले आरोप लगाए ।
साथै उनले सरकारले अपराधीलाई कारबाही गर्नुको साटो ढाकछोप गर्न र जनताको आवाज थुन्न लागिपरेको भन्दै आलोचना गरे । उनले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न समेत माग गरे ।