Sunday, June 13, 2021
घरBanner Newsचालु आर्थिक वर्षको तीन महिनाको व्यापारघाटा साढे तीन खर्ब

चालु आर्थिक वर्षको तीन महिनाको व्यापारघाटा साढे तीन खर्ब

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नेपालको व्यापारघाटा बढेर साढे तीन अर्ब पुगेको छ । कुल वस्तु व्यापारघाटा ४५.९ प्रतिशतले विस्तार भई ३ खर्ब ४९ अर्ब ८४ करोड पुगेको हो ।

निर्यात–आयात अनुपात ६.४ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.९ प्रतिशत थियो । नेपाल राष्ट्र« बैंकले आइतबार सार्वजनिक गरेको अर्थिक वर्ष २०७५÷७६ को असोज महिनासम्मको तथ्यांकअनुसार कुल वस्तु निर्यात १६.१ प्रतिशतले वृद्धि भई २३ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.१ प्रतिशतले वृद्धि भएको थियो ।

भारततर्फ २०.२ प्रतिशत, चीनतर्फ १४.४ प्रतिशत र अन्य मुलुकतर्फ ११.२ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, ऊनी गलैँचा, पश्मिना, दन्तमञ्जनलगायतको निर्यात बढेको छ भने अलैंची, रोजिन, छाला, जिआई पाइप, अल्मुनियमलगायतको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात ४३.६ प्रतिशतले बढेर ३७३ अर्ब ५९ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७.९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट ४०.८ प्रतिशत, चीनबाट ४५.९ प्रतिशत र अन्य मुलुकबाट ५०.५ प्रतिशतले आयात बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम, हवाईजहाज तथा पार्टपूजा, एमएस बिलेट, सवारीसाधन तथा पार्टपूर्जा, अन्य मेसिनरी तथा पार्टपूर्जालगायतको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपूर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, भिडियो टेलिभिजन तथा पार्टपूर्जा, स्वास्थ्यसम्बन्धी उपकरण तथा औजारलगायतको आयात घटेको छ ।

मुलुकको शोधनान्तर स्थिति ३५ अर्ब ४२ करोडले घाटामा रहेको छ । सरकारको नगद प्रवाहमा आधारित कुल खर्च २३.१ प्रतिशतले र राजस्व संकलन ४३.४ प्रतिशतले बढेको छ । विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १८.६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.४ प्रतिशतले र कर्जा प्रवाह ७.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.७ प्रतिशत र कर्जाको वृद्धिदर २५.५ प्रतिशत रहेको पनि नेपाल राष्ट्र« बैंकले जनाएको छ ।

मूल्यवृद्धि ४.७ प्रतिशत

चालु आवको असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.७ प्रतिशत छ । २०७४ असोजमा यस्तो मुद्रास्फीति ३.१ प्रतिशत थियो । खासगरी, खाद्यान्न, तरकारी, माछामासु र पेय पदार्थको मूल्य तथा घरभाडा बढेका कारण समीक्षाअवधिमा समग्र मुद्रास्फीति बढ्न गएको हो ।

असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त समूहको मुद्रास्फीति ०.५ प्रतिशत थियो । समीक्षा अवधिमा खासगरी खाद्यान्न तथा खाद्यजन्य पदार्थ, मासु तथा माछा, घिउ तथा तेल एवं सुर्तीजन्य पदार्थलगायतका उपसमूहका वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढ्न गएको हो ।

गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ५.२ प्रतिशत थियो । यस समूहअन्तर्गतको यातायात, फर्निसिङ तथा घरायसी उपकरण, मनोरञ्जन तथा संस्कृति एवं घरायसी उपयोगिता तथा सेवालगायत उपसमूहका वस्तु तथा सेवाको मूल्यवृद्धि भएकाले समग्र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको हो ।

पहाडमा ६.१ प्रतिशत, तराईमा ४.३ प्रतिशत, हिमालमा ४.२ प्रतिशत र काठमाडौं उपत्यकामा ४.० प्रतिशतको मूल्यवृद्धिदर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.० प्रतिशत, ३.६ प्रतिशत, ५.१ प्रतिशत र २.३ प्रतिशत रहेको थियो ।

साढे २ खर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको तीन महिनामा झण्डै साढे दुइ खर्ब बराबरको रेमिट्यान्स भित्रिएको छ । रेमिटयान्स आय ३७.३ प्रतिशतले वृद्धि भई २ खर्ब ४२ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २.६ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २४.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ६.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरूको संख्या उल्लेख्य मात्रामा घटेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments