रियाद : साउदी अरबको सञ्चार क्षेत्रमा महिलाको सहभागिता बढ्न थालेको छ । साउदी अरबको इतिहासमा महिलाद्वारा साँझको समाचार वाचन नहुने गरेकोमा वेयम अल ढखिलले साउदी टेलिभिजन च्यानल–१ मा समाचार वाचन गरी सञ्चारमाध्यममा साउदी महिलाको आकर्षण बढेको पुष्टि गरेका छन्।
ढखिलले राज्य सञ्चालित साउदी टेलिभिजन च्यानलका समाचार वाचक ओमार अल नशवानको छेउमा बसी शनिबार साँझको बुलेटिन पढ्नुभएको यहाँको खलिज टाइम्सको आइतबारको अङ्कमा उल्लेख छ ।
जमुनाह अलशामी दुई बर्ष पहिले अर्थात् सन् २०१६ मा साउदी अरबमा बिहानको समाचार बाचन गर्ने पहिलो महिला बनेकी छन्। साउदी टिभीको आधिकारिक ट्वीटर च्यानलमार्फत ढखिल पहिलो रात्रि बुलेटिन प्रस्तोता बनेको भनी उल्लेख गरिएको छ ।
महिलामाथिका प्रतिबन्धलाई खुकुलो पार्ने र राजतन्त्रात्मक मुलुकको अर्थतन्त्रलाई उर्जा बाहेकका क्षेत्रबाट योगदान गर्ने साउदी अरेबियाज भिजन २०३० सुधार कार्यक्रम अन्तर्गत पछिल्ला दिनहरूमा यहाँको प्रशासनले कडा नियमलाई केही खुकुलो पार्दै लान थालेको छ ।
साउदी अरबका राजकूमार मोहम्मद विन सलमानले गत बर्षदेखि महिलाको सहभागितालगायतका बिषयमा रहेको कडा नियमलाई हटाउँन शुरु गरेका थिए। केही हप्ता पहिले रियादस्थित फ्लाइनस विमान कम्पनीले साउदी महिलालाई सार्वजनिक क्षेत्रमा प्रोत्साहन गर्ने कार्यक्रम स्वरूप विमानको सहचालक तथा परिचारिका भर्ना गर्ने बताएको थियो ।
जुन महिनादेखि साउदी महिलाले सवारी चलाउन नपाउने कानूनमा सुधार गरिएको थियो । यस पहिले साउदी महिलाले निजी वा सार्वजनिक कुनै कार वा गाडी चलाउन रोक लगाइएको थियो ।
गत मार्चमा साउदी अरबले इतिहासमा नै पहिलो पटक महिला तथा किशोरीहरूको दौडको आयोजना गरेको थियो । यस पहिले साउदी अरबमा खेलकूद क्षेत्रमा महिलाले सहभागिता जनाउँदैनथे । ऐतिहासिक पहिलो दौड प्रतियोगितामा एक हजार ५०० महिलाले सहभागिता जनाएका थिए । एएनआई