Wednesday, September 22, 2021
घरBanner Newsप्रधानमन्त्री अमेरिका जादै, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री अमेरिका जादै, यस्तो छ भ्रमण तालिका

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।

१३ दिने विदेश यात्राका लागि अमेरिका जान लागेका प्रधानमन्त्री ओली महासभामा सहभागि भएपछि मध्य अमेरिकी मुलुक कोष्टारिका जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले महासभामा बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधन गर्नुअघि उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय वार्ता गर्ने छन् ।

‘राष्ट्रसंघलाई सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मुख्य विषय रहेको सम्मेलनमा उनले नेपालको पछिल्लो राजनीतिक अवस्थासहित सरकारले गर्दै आएका कार्य र अन्तर्राष्ट्रिय प्रतिवद्धताबारेमा प्रकाश पार्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले ‘नेल्सन मण्डेला शान्ति शिखर सम्मेलन’लाई सम्बोधन गर्नेछन् मण्डेलाको सम्मानमा जन्म शताब्दी मनाउन राष्ट्रसंघले यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । उनी सोही दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने छन् । ट्रम्प र ओलीबीच एकदेखि दुई मिनेट मात्र संक्षिप्त कुराकानी हुनेछ ।

राष्ट्रसंघ महासभामा सहभागी हुन आउने प्रतिनिधिमण्डल प्रमुखका दम्पतीका लागि उक्त सम्मान समारोह अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने प्रचलन छ । ट्रम्पको सम्मान समारोहको भोलिपल्ट ओली उच्चस्तरीय सम्बोधनमा सहभागी हुनेछन् । सम्बोधनपछि ओली नेपाली समुदायसँगको भेटघाटसहित साइडलाइन भेटमा सक्रिय बन्नेछन् । बिहीबार सम्बोधन गरेपछि ओली शुक्रबार कोस्टारिका जाने कार्यक्रम छ ।
ओलीको सम्बोधनकै दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क विदेशमन्त्रीसँग अनौपचारिक बैठक गर्नेछन् । सार्क महासचिव अम्जद हुसेन बी सियाल प्रधानमन्त्री ओलीसँगै बसेर यात्रा गर्न लागेका छन् ।

प्रधानमन्त्री ओलीले मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद, स्विजरल्यान्डका राष्ट्रपति एलिन ब्रिसेट र कम्बोडियाका प्रधानमन्त्री समेच उर्फ मोह सेना पाडी तेच हान सेनसँग भेट गर्नेछन् । उनले कोस्टारिकाका राष्ट्रपति कार्लोस आलभाद्रोसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव, परराष्ट्रका सहसचिव, झापाका मेयर, सुरक्षा गार्ड, चिकित्सक, सरकारी सञ्चारकर्मी, सहयोगीसहित २१ सदस्यी टोली रहनेछ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments