धनुषा : मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ को राजधानी जनकपुर र भारत विहारको राजधानी पटनालाई जोड्ने नेपाल–भारत मैत्री बस सेवा सञ्चालन भएसँगै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्।
नेपालको तर्फबाट स्वयम्भु मञ्जुश्री यातायात प्रालीले सञ्चालन गरेको जनकपुर–पटना बस सेवा शुभारम्भ गर्नु हुँदै मुख्यमन्त्री राउतले सेवा सञ्चालनसँगै हिन्दू धर्मावलम्बीका आस्थाको केन्द्र जनकपुरमा भारतीय पर्यटक ल्याउन सहयोग पुग्ने बताएका छन् ।
मुख्यमन्त्री राउतले जनकपुरधाम–पटना नेपाल भारत मैत्री बस सेवाले जनकपुरको धार्मिक पर्यटकीय विकासमा विशेष टेवा पुग्ने बताउँदै नेपाल भारत बीचको धार्मिक, समाजिक तथा पारिवारिक सम्बन्धलाई अझ मजबुत हुने उल्लेख गरेका छन् ।
उहाँले जनकपुरधामको विकासको मुख्य आधार धार्मिक पर्यटन नै रहेकाले भारतको विभिन्न धार्मिक स्थलका साथै नेपालकै विभिन्न शहरबाट समेत हवाई सेवा सञ्चालनको पहल भई रहेको जानकारी दिएका छन् ।
उहाँले पोखराबाट हवाई सेवा सञ्चालनका लागि पहिलो चरणको छलफल भई रहेको उल्लेख गर्दै लुम्बिनीलगायतको स्थानबाट समेत हवाई सेवा सञ्चालनको पहल भइरहेको बताएका छन् ।
मुख्यमन्त्री राउतले नेपाल र भारतमा रहेका ९० प्रतिशत ओमकार परिवारका व्यक्तिलाई जीवनमा एक पटक जनकपुर आउनै पर्ने वातावरण बनाउन प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य गरेर योजना बनाउनु आवश्यक रहेको बताए ।