Wednesday, October 27, 2021
घरBanner Newsनिर्मला हत्या प्रकरणले दवावमा प्रहरी: डीआईजीको नेतृत्वमा छानविन समिति

निर्मला हत्या प्रकरणले दवावमा प्रहरी: डीआईजीको नेतृत्वमा छानविन समिति

काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाले निकै आलोचित बनेको नेपाल प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न फेरी अर्को उच्चस्तरीय छानविन समिति बनाएको छ ।

निर्मलाको हत्या भएको ५३ दिन बितिसक्दा पनि अपराधी पत्ता नलागेको अवस्थामा देशव्यापी दबाब बढिरहेका बेला आइतबार प्रहरीले डिआईजी धीरु बस्न्यात स‌ंयोजकत्वमा नौ सदस्यीय छानविन समिति गठन गरेको हो । प्रहरीकै संलग्नतामा प्रमाण नष्ट गरिएको र दोषीलार्इ बचाउन प्रहरी लागिपरेको भन्दै चौतर्फी आलोचनाका भइरहेको छ ।

प्रहरीले भदौ १४ गते एसएसपी उत्तम सुवेदीको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । प्रहरी प्रधान कार्यालयले  सुवेदी नेतृत्वको समितिलाई नै विस्तार गरिएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले पुरानै समितिको जिम्मेवारी डीआईजी बस्न्यातलाई दिइएको जानकारी दिए ।

छानबिन समितिमा यसअघि गठित समितिका संयोजक एसएसपी उत्तम सुवेदी र अर्का एसएसपी नरेश शाही सदस्य रहेका छन् । यो समितिमा सीबीआर र पोलिग्राफ टेस्ट गर्न सक्ने विज्ञ प्रहरी अधिकृतहरुलाई पनि सदस्य तोकिएको छ ।

कञ्चनपुर घटनाले प्रहरीप्रति सर्वसाधारणको विश्वास गुम्न सक्नेतर्फ सचेत रहँदै अनुसन्धानलार्इ प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरिएको प्रवक्ता थापाले बताए । उनले भने ‘निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पत्ता लगाउन अनुसन्धानको दायरा अझै फराकिलो बनाउनु जरुरी थियो त्यही अनुसार डिआइजीलार्इ समितिको जिम्मेवारी दियौं ।’

शनिवार मात्र गृहमन्त्रालयले प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो ।

यसअघि  गृह मन्त्रालयले हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गर्न गृहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पनि समिति गठन गरेको थियो । समितिले शनिवार गृहमन्त्री रामबहादुर थापालार्इ प्रारम्भिक प्रतिवेदन बुझाउँदै अनु्सन्धानका क्रममा प्रहरीबाट गम्भीर लापरवाही भएको भन्दै संलग्न प्रहरी अधिकारीलार्इ निलम्बन गर्न सिफारिस गरेको थियो ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments