काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पत्रकारलार्इ हत्कडी लगाएर पक्राउ गर्नुले सरकार अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न लागको पुष्टि भएको दावी गरेका छन् । खोजतलास पत्रिकाका प्रधानसम्पादक राजु बस्नेतलाई पक्राउ गरिएको विषयमा बुधबार विज्ञप्ति निकाल्दै नेता कोइरालाले पत्रकार पक्राउले सरकारको सर्वसत्तावादी सोच हावी भएको आरोप लगाए ।
उनले भने, ‘दृष्टि साप्ताहिकमा प्रकाशित समाचार साभार गरेको भन्दै राजु बस्नेतलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको बोलिएको धावा र ठाडो हस्तक्षेप हो। यो सरकारको सर्वसत्तावादी चरित्र हो ।’
उनले राजनीतिक आस्थाका आधारमा पत्रकारलार्इ धरपकड गरिएको पनि बताएका छन् । ‘समाचार लेख्ने दृष्टि साप्ताहिकलाई उन्मुक्ति दिने तर राजनितीक रुपमा फरक विचार राखेकै भरमा समाचार साभार गर्ने पत्रकार बस्नेतलाई पक्राउ गरिनु नितान्त राजनितिक जालसाँझी हो’ उनले भने ‘हिरासतमा राखिएका पत्रकार बस्नेतको तत्काल रिहा नगरिए तथा स्वतन्त्र प्रेसमाथिको ज्यादती र उदण्डता नरोकिए सरकारले ठूलो मुल्य चुकाउनुपर्छ ।’
‘खोजतलास’ साप्ताहिक तथा खोजतलासन्युज डट कमका अध्यक्ष एवं प्रधानसम्पादक बस्नेतलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धानका लागि भन्दै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। दृष्टि साप्ताहिकमा छापिएको समाचार आफ्नो पत्रिका तथा अनलाइनमा साभार गरी पुनः प्रकाशित गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।