२६ भदौ, चितवन । विभिन्न स्थानमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ । प्रहरीले सडक खुल्न समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ । सडक खण्डको जलवीरे, चारकिलोलगायत स्थानमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि सडक खण्डका दुवैतर्फका गाडी लामो जाममा फसेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख वेदप्रसाद गौतमले चारकिलोमा पहाड नै खसेकाले अवरोध हटाएर सञ्चालन गर्न समय लाग्ने जानकारी दिए । रातिदेखि नै चितवन र वरपरका सडकमा वर्षा भइरहेकाले अवरोध हटाउन नसकिएको उनको भनाइ छ ।
पहिरो पन्छाउने काम भईरहेको गौतमले बताए । तीजको दरखाने दिन भएकाले दर खान माइत हिँडेका चेलीबेटी यसको मारमा परेका छन् ।