Tuesday, November 30, 2021
घरBanner Newsतीज आउनु महिना दिन अघिदेखि नै दर

तीज आउनु महिना दिन अघिदेखि नै दर

२६ भदौ,काठमाण्डौ । आज हरितालिका तीजको अघिल्लो दिन अर्थात दर खाने दिन , हिन्दु नारीहरुले दर खाने प्रचलन छ । विभिन्न मिष्ठान्न परिकारका साथ आज दर खाएर तीज पर्व मनाइँदैछ । भोली बस्ने निराहार व्रतको अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । तीज  मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले खिर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दुध घ्यूबाट बनेका परिकार दरका रुपमा खाने चलन भएको छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ । परापूर्वकालमा देवी पार्वतीले शीवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोली ब्रत बस्ने चलन रहेको छ ।

तिजको विकृति
पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोली राजधानी तथा अन्य क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ । तीज आउनु महिना दिन अघिदेखि नै तीजको कार्यक्रमको निम्ताले इन्टरनेटका सामाजिक सञ्जाल रंगिने गरेको छ । दर खुवाउने नाममा एक महिना अघिदेखि नै समाजमा धाक र आडम्बर प्रदर्शन गर्ने होडबाजी जस्तो देखिन्छ । अर्कातिर, विभिन्न क्लब र राजनीतिक विद्यार्थी संगठनले दर खुवाउने बहानामा चन्दा उठाउने गरेका छन । विभिन्न पार्टी निकट कर्मचारी संगठनहरुका महिलाहरु आफ्नो राजनीतिक आडम्बर देखाउन कार्यालय नै बन्द गरी पालैपालो तीजका कार्यक्रम गर्दै छन । यसर्थ, धार्मिक र सांस्कृतिक महत्वभन्दा पनि यो पर्व आडम्बर देखाउने अवसर बन्न थालेको छ । सुरूमा सभ्रान्त परिवारका महिलाले पैसा उठाउँदै पार्टी प्यालेसमा तिजको दर खुवाउने चलन चलाए । अहिले त्यो परम्पराजस्तै भएको छ । काठमाण्डौ लगाएतका सहरहरुमा रहेका पार्टीप्यालेसमा अहिले तिजको दरखाने भिडभाड नै देखीन्छ । माईतिको आगन सून्य भैरहदा पार्टीप्यनलेसमा छमछम नाचेको देख्न सकिन्छ । यसले तिजको महत्तवनै धरापमा देखीन्छ ।

गीतसंगीतमा पनि परिवर्तन
आधुनिकतासँगै तिज मनाउने चलनमा मात्र होइन, तिजमा गाइने गीतमा पनि व्यापक परिवर्तन आएको छ । त्यसैले हिजोआज बजारमा निस्किएका तिजका गीतको चर्चासँगै आधुनिकताको नाममा तिजको मूल मर्म नै बिर्सिएर गीत निकालेर चर्चा बटुल्ने गरिएको भनेर आलोचना पनि सुनिन थालिएको छ । त्यतिबेलाका तीजमा गाइने गीतहरुले पनि सबैको मन छुन्थ्यो । गीतहरुले छोराछोरीबीचको विभेद र सामाजिक विसंगतिहरूलाई इंगित गरेको हुन्थ्यो तर पछिल्ला समयमा गीतहरूमा पनि व्यावसायिक स्वार्थका लागि गीतलाई हिट बनाउने प्रतिस्पर्धामा शब्दको चयन ख्याल गर्नै छाडेको बताईएको छ ।

गहना र महागा साडी किन्नेमा प्रतिष्पर्धा
आधुनिक महिलाहरु र शहरिया हुनेखानेहरु तडकभडकमा विश्वास गर्छन । महिलाहरुको बीचमा गहना र महागा साडी किन्नेमा प्रतिष्पर्धा चलेको देखिन्छ । देखासिकी गर्दा महिलाहरु पर्वको नाममा भड्किलो व्यवहारमा जानीनजानी फसिरहेका छन । दुःखको कुरा हो, आफूलाई शिक्षित, जान्नेसुन्ने, समाजसेवी, सचेत मान्ने र समाजले पनि त्यसैगरी हेर्ने गरेका महिलाहरुले पनि तीजलाई भड्किलो पार्न सघाइरहेका छन् । यस्तै विकृतिको कारण समाजमा भ्रस्टाचार र अपराध मौलाउदै गएको देखिन्छ ।

स्वाथ्यकर्मीको सल्लाह
स्वास्थ्यकर्मीहरुले दर खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने तत्व नखान तथा अखाद्य वस्तु, रंग हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान आग्रह गरेका छन् । सजावटमा राखिएका मिठाई तथा फलफूल भन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन चिकित्सकको सुझाव छ । कान्तिपुर जनरल हस्पिटलका स्वाथ्य सहायक रेनुका शर्माले अलगधार संग कुरागर्दै तिज मनाईरहदा आफ्नो स्वाथ्यलाई समेत ध्यान दिन आग्रह गरीन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments