काठमाडौँ- नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास मुल्य बढाउने निर्णय गरेको छ। निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी स्वचालित मूल्यमा वृद्धि गर्ने निर्णय गरेको हो।
निगमका अनुसार अब पेट्रोलको नयाँ खुद्रा मूल्य प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९८ रुपैयाँ र एलपी ग्यासको एक सिलिण्डरको मूल्य १४ सय रुपैयाँ कायम गरिएको छ।
उसले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको हो।
केही साता अघि मात्रै अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भएको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्राको समेत अवमुल्यन भएकोले मूल्य वृद्धि गर्नुपरेको आयल निगमले उल्लेख गरेको छ।
नेपाल आयल निगमको मासिक ६४ करोड रुपैयाँ घाटा बेहोर्दै आएको छ । नयाँ मूल्य सूचि अनुसार निगमलाई १५ दिनमा ३१ अर्ब ५९ करोड घाटा हुन्छ। अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा निगमको घाटा पनि चुलिएको हो ।
भारतीय आयल कर्पोरेशन (आइओसी) ले गत भदौ १६ गते बढाएर पठाएको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरिएकाले घाटा थपिएको निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले बताए।