काठमाण्डौ । नेपाल–चीन पारबहन यातायात सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीहरुको तेस्रो बैठक काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा भएका दुई देशबीचको व्यापार तथा पारबहन सम्झौताको प्रोटोकललाई टुंगो लगाउन दुवै देशका अधिकारहरुबीच तेस्रो पटक बैठक सुरु भएको हो ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा पारबहन यातायात सम्झौताको प्रोटोकललाई असोज १५ गते भित्र टुंग्याई सक्ने सहमति भएको थियो । सोही सहमतिलाई कार्यान्वयनमा ल्याउन बुधबार दुवै देशका अधिकारीहरु छलफलमा जुटेका हुन् ।
बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर संैजुले गर्नु भएको छ भने चीनको यातायात विभागमा महानिर्देशक वाङ सिपिङले गर्नु भएको छ । बैठकमा नेपाली पक्षबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरुसहभागी रहेका छन् ।
प्रधानमन्त्रीको रुपमा सन् २०१६ मा केपी ओली चीन भ्रमणमा जाँदा दुई मुलुकबीच पारबहन यातायात सम्झौंता गर्ने सहमति गरिएको थियो । सोही सहमति कार्यान्वयनका लागि दुई देशका सहसचिव स्तरीय बैठक सुरु गरिएको हो । दुई दिनसम्म चल्ने बैठकले सम्झौता अनुसारको प्रोटोकललाई अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सैंजुले जानकारी दिए ।