काठमाण्डौ । एसिया कप छनोट अन्तर्गत नेपालले हङकङलाई मात्रै ९६ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपाल ३७।५ ओभरमा ९५ रन बनाउँदै अलआउट भयो । फाइनलमा स्थान बनाउने सम्भावना जिवितै राख्न ठूलो अन्तरले विपक्षीलाई हराउनुपर्ने बाध्यतामा रहेको नेपालले मात्र एक रन हुँदा पहिलो विकेट गुमाएको थियो। ओपनर सुवास खकुरले खाता खोल्न नपाउदै आउट भए । नेपालले २३ रन बनाउँदा कप्तान पारस खड्का व्यक्तिगत १४ रन बनाएर आउट भएका छन् ।
उनि इसान नवाजको बलमा क्याच आउट भएका हुन् । नेपालको स्कोर ४४ रन हुँदा अनिल शाह १५ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो । यस्तै, ४८ रन बनाउदा ज्ञानेन्द्र मल्ल १२ रनमा पेभेलियन फर्किए जसका कारण नेपालले चौथो विकेट गुमायो । लगत्तै दिपेन्द्र ऐरी मात्र २ रनमा आउट भए । निकै कमजोर ब्याटिङ गरेको नेपालले ५५ रनमै छैटौँ विकेट खेर फाल्यो । सागर पुन ७ रनमा आउट भए । नेपालको स्कोरबोर्डमा अरु तीन रन थपिदा सातौ विकेट गयो ।
सोमपाल कामीले खाता खोल्न सकेनन् । आठौँ विकेटका लागि आरिफ शेख र बसन्त रेग्मी बीच ३४ रनको साझेदारी भयो । यसले नेपाललाई केही राहत भएको थियो । तर नेपालले ९२ रन बनाउँदा आरिफ १८ रनमा आउट हुन पुगे । नेपालका लागि बसन्त रेग्मीले १५ रन थपे ।हङकङका बलरहरूले ८ ओभर मेडन राखेका थिए।