काठमाण्डौ । एसिया कप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा सिंगापुरलाई ४ विकेटले हराउदै जित हात पारेको हो । सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले २८ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टाएको हो । योसँगै चार खेलबाट ४ अंक जोडेको नेपालले फाइनल खेल्ने सम्भावना कायम राखेको छ ।
सिंगापुरले चार खेलबाट खातै खोल्न सकेको छैन । छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाउन जित्नै पर्ने दवावका साथ मैदान उत्रिएको नेपालको जितमा अनिल साहले ३२ बलमा ४३ रन जोडे । यस्तै दिपेन्द्र सिंह ऐरी ३३, ज्ञानेन्द्र मल्ले २०, सुवास खकुरेलले र सागर पुन समान १४ तथा कप्तान पारस खड्काले ११ रन बनाए । आरिफ शेख रनमा नटआउट रहे ।
अनिल र सुवासले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुवात दिलाएका थिए । यद्यपि १४ औं ओभरमा पारस र सुवास आउट भएपछि नेपाल दवावमा आएको थियो । ज्ञानेन्द्र र दिपेन्द्रले चौथो विकेटका लागि ४७ रनको साझेदारी गरेपछि नेपाल उन्मुख भएको थियो । आरिफ शेखले आफ्नो पहिलो बलमै चौका हान्दै नेपाललाई जित दिलाए ।
सोमपाल कामी शुन्य रनमा रहे । विजय कुमार र अनन्था कृष्णले समान २–२ विकेट लिए । यसअघि मलेसियामा टस जितेर व्याटिङ गरेको सिंगापुर ४२ ओभरमा १ सय ५१ रनमा अलआउट भएको थियो । ४२ औं ओभरमको अन्तिम बलमा बसन्त रेग्मीले कार्थिकेयन सुब्रमन्यमलाई २० रनमा बोल्ड गरेपछि सिंगापुर १ सय ५१ रनमा अलआउट भयो ।
किफायती बलिङ गरेका बसन्तले ८ ओभरमा २० रन दिएर १ विकेट मात्र लिए । ललित राजबंशी र सन्दिप लामिछानेले ३–३ तथा सोमपाल कामीले २ विकेट लिए । सोमपालले पहिलो ओभरमा मेडन सहित विकेट लिएपछि सिंगापुर सुरुवात मै दवावमा आएको थियो । चौथो ओभरमा ललित राजबंशी र पांचौमा सोमपालले अर्को विकेट लिएपछि सिंगापुरको इनिङ्स धरापमा परेको थियो । चौथो विकेटका लागि क्याप्टेन चेतन सूर्यवंशी र अनिश पर्रामले ८० रनको साझेदारी गरेपछि सिंगापुरको इनिङ्स केही सम्हालियो ।
२७ औं ओभरमा दिपेन्द्रसिंह ऐरीले अनिशलाई ३१ रनमा रन आउट गरेपछि नेपाल फेरि खेलमा फर्कियो । २७ औं ओभरमा अनिश आउट भएपछि सिंगापुरको विकेट पतन सुरु भएको थियो । चेतन ६० रनमा ललितको शिकार बने । सिंगापुरका ७ जना ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा नेपालले १३ रन अतिरिक्त दिएको थियो ।
अर्को खेलमा यूएईले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । ९३ रनको सामान्य लक्ष्य उसले मात्र ४९ वलमा २ विकेट गुमाएर भेट्टायो । जितपछि यूएईको पनि ६ अंक भएको छ । अर्को खेलमा ओमानले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याईरहेको हङकङले बिना क्षति ५ ओभरमा २५ रन जोडेपछि वर्षाले खेल रोकिएको छ । लिग चरणको अन्तिम खेलमा ओमान र यूएई, नेपाल र हङकङ तथा मलेसिया र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ ।