काठमाण्डौ । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आज युएईसँग ७८ रनले हारेसँगै नेपालको एसिया कप खेल्ने सम्भावना टाढिएको छ । युएईले दिएको २सय ५५ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ७६ रनमा अल आउट भएपछि ७८ रनले पराजित हुन पुगेको हो ।हालै मात्र एक दिवसीय मान्यता पाएको नेपाल छनोट प्रतियोगिता जितेर भारत र पाकिस्तानसँग एसिया कप खेल्ने लक्ष्यका साथ मलेसिया पुगेको थियो । नेपालका सुवास खकुरेल र दीपेन्द्रसिंह ऐरी बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
सुवासले ५० र दीपेन्द्रले ४० रन बनाए । नेपालका लागि उच्च स्तरका ब्याट्सम्यान चल्न सकेनन् । कप्तान पारस खड्का १६, उपकप्तान ज्ञानेन्द्र मल्ल ४, सागर पुन र आरिफ शेख समान ३/३ रनमा आउट भए । यद्यपि नवौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामी र १०औं नम्बरमा आएका बसन्तले ३४ रनको साझेदारी गर्दै नेपाललाई ठूलो अन्तरको हारबाट जोगाए । सोमपालले अविजित २७ र बसन्तले १२ रन बनाएका थिए ।बलिङतर्फ युएईका अहमद राजाले ४ र मोहम्मद नभिदले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा युएईले उत्कृष्ट सुरुवात गरेको थियो । युएईका लागि चिराग सुरीले ६५, एड्नान मुफ्तीले अविजित ५७, अश्फाक अहमदले ४५ र र रमिज शाहजादले ३६ रन बनाए । सन्दीपले पूरै १० ओभर बलिङ गर्दै २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए ।
त्यस्तै, नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २/२ विकेट लिए । बसन्तले १० ओभर बलिङ गर्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपालले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेर २ विकेट लिए । नेपालले अब बाँकी तीन खेल क्रमशः मलेसिया, सिंगापुर र हङकङसँग खेल्नु पर्नेछ । बाँकी तीन वटै खेल जित्दा पनि नेपालको अंक ६ मात्र हुनेछ । त्यसैले एसिया कपमा स्थान बनाउन अघि फाइनल पुग्न पनि नेपाललाई निकै कठिन छ । छनोट प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउनेछ ।यद्यपि यूएई र ओमानका बाँकी खेलमा अनपेक्षित नजिता आए नेपाललाई लाभ हुनेछ ।नेपालले अब शनिबार मलेसियासँग खेल्ने छ ।