१४ भदौ , काठमाण्डौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका ६ वटै सदस्य राष्ट्रका विशिष्ट पाहुनाहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ता गरेका छन् । उनिहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरेका थीए । आजै शुरु हुने शिखर सम्मेलन पूर्व राष्ट्रपति भण्डारीले पाहुँनाहरुको सम्मानमा दिवा भोजको आयोजना गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु कार्यक्रममा सहभागी हुनेछन् ।
बिम्स्टेकमा नेपालसहित सात राष्ट्र सदस्य छन् । सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख नेपाल आएका छन् ।भोलिसम्म चल्ने सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सोल्टी होटलमा गर्नेछन् ।सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।
बिम्स्टेकको मन्त्रीस्तरीय बैठकले चौथो सम्मेलनका लागि विभिन्न १६ एजेन्डा तय गरेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार सदस्य राष्ट्रहरूबीच कनेक्टिभिटी, गरिबी निवारण, अन्तरक्षेत्रीय व्यापार तथा लगानी, जलवायु परिवर्तन र सुरक्षालाई प्रमुख प्राथमिकतामा राखिएको छ ।बिम्स्टेक राष्ट्रहरुबीच ऊर्जा व्यापार सहज बनाउन गर्न लागिएको विद्युत प्रसारण लाईन ग्रिड इन्टरकनेक्सन्सको एमओयूमा हुने हस्ताक्षरलाई सम्मेलनको सबैभन्दा महत्वपूर्ण विषयको रुपमा हेरिएको छ ।सन् २००४ मा भुटानसँगै बिम्स्टेकमा प्रवेश गरेको नेपालले आफ्नो् प्राथमिकता र चासो निर्धारण गर्न नसकेको भन्दै परराष्ट्रमामलाका जानकारहरुले आलोचना गर्ने गरेका छन् ।